काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपातमा सानो रहेको बताएका छन् ।
आज (आइतबार) अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षका निम्ति प्रक्षेपित जीडीपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गरे । बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको उनले स्पष्ट पारे ।
“बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ भन्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु,” उनले भने ।
उनले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमताअनुकूल हुने गरी ल्याइएको जिकिर गरे । जीडीपीको वास्तविक आकार आउँदा दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्यांकन गरिने उनले बताए ।
सरकारले बजेटलाई २५–३० प्रतिशतको दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको उनले बताए ।










प्रतिक्रिया