चलचित्र ‘लाली बजार’ को कमाई ७ करोड नाघ्यो, प्रदर्शनरत अन्यको कति ?


काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र हलमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले प्रदर्शनरत नेपाली चलचित्रको गत शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

बक्स अफिसले चलचित्र लाली बजार, परालको आगो, मितज्यू, मालती मंगले, काजी र लाइफ ड्यामेजको कारोबार विवरण सार्वजनिक गरेको हो ।

जेठ १६ गते मध्यरातसम्मको विवरण हेर्दा सबैभन्दा धेरै चलचित्र ‘लालीबजार’ ले कमाएको छ । यम थापाको निर्देशनमा तयार भएको चलचित्र लालीबजारले २ लाख ६९ हजार २०२ टिकट बिक्री गर्दै ७ करोड ९० लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ । बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको सो चलचित्रले प्रदर्शनरत अन्य चलचित्रहरुले भन्दा राम्रो कमाई गरेको छ ।

त्यसैगरी, कमाइको दोस्रो स्थानमा परालको आगो रहेको छ । बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको सो चलचित्रले १ लाख ५४ हजार ३४ वटा टिकट बिक्री गर्दै ४ करोड २७ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त चलचित्र लक्ष्मण सुनारको निर्देशनमा तयार भएको हो ।

तेस्रो स्थानमा रहेको चलचित्र मितज्यूले ४१ हजार २४८ वटा टिकटबाट १ करोड २० लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ ८ गतेदेखि प्रदर्शनमा आएको हो ।

त्यसैगरी, चलचित्र मालती मंगलेले १६ हजार १८८ वटा टिकट बिक्री गर्दै ५१ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । प्रकु पाण्डेको निर्देशनमा तयार भएको सो चलचित्र बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको हो ।

चलचित्र काजीले हालसम्म १३ हजार ७ वटा टिकट बिक्री गरी ४० लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । लक्ष्मण रिजालको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ ८ गतेदेखि प्रदर्शनमा आएको हो ।

त्यसैगरी, चलचित्र लाइफ ड्यामेजले हालसम्म १० हजार ८५५ वटा टिकटबाट ३३ लाख २६ हजार रुपैयाँ आम्दानी गर्दै सूचीको अन्तिम स्थानमा परेको छ । निमेष श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्र जेठ १ गतेदेखि प्रदर्शनमा आएको थियो ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार  १४ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।