बेरुत । अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान बुधबार युद्धविराम लागू गर्न सहमत भएका छन् । तर इरान समर्थित हिजबुल्लाहले गोली आदानप्रदानको ‘पूर्ण समाप्ति’ बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ ।
दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा ‘पाइलट जोन’ स्थापना गर्ने सहमति भएको उल्लेख छ । उक्त क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर–राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण लिने व्यवस्था रहने बताइएको छ ।
युद्धविरामको घोषणा भए पनि त्यसअघि र पछिसमेत सीमावर्ती क्षेत्रमा झडप र आक्रमणहरू जारी रहेका छन् । हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको र इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु भएको दाबी गरिएको छ । सम्झौता सार्वजनिक भएको केही घण्टापछि उत्तरी इजरायलमा ‘संदिग्ध हवाई लक्ष्य’ देखिएपछि हवाई आक्रमण चेतावनी जारी गरिएको थियो, यद्यपि कुनै हताहत भएको पुष्टि भएको छैन ।
संयुक्त विज्ञप्तिअनुसार युद्धविराम लागू हुन हिजबुल्लाहको गोलीबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लडाकूहरू हटाइने शर्त पनि समावेश गरिएको छ ।
वासिङ्टनमा भएको वार्ता लेबनानी र इजरायली प्रतिनिधिहरूबीच प्रत्यक्ष संवादको चौथो चरण भएको जनाइएको छ । संवाद मार्च २ मा सुरु भएको सङ्घर्षपछि अघि बढिरहेको छ । त्यसबेला हिजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि आक्रमणहरू पुनः सुरु गरेको थियो ।
दुवै पक्षले आगामी जुन २२ को हप्तामा पुनः वार्ता गर्ने सहमति पनि जनाएको छ, जसको उद्देश्य व्यापक शान्ति सम्झौतामा पुग्ने बताइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानको द्वन्द्व र इरानसँगको सम्बन्धित तनावलाई अलग–अलग रूपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । तर तेहरानले यी सबै घटनाहरू आपसमा जोडिएको दाबी गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले बेरुतमा कुनै पनि आक्रमण भएमा युद्ध पुनः पूर्ण रूपमा सुरु हुने चेतावनी दिएका छन्।
इजरायली सेनाले बुधबार लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको ‘शत्रुतापूर्ण विमान’ र दुई प्रोजेक्टाइलहरू रोकेको जनाएको छ । त्यसको जवाफमा हिजबुल्लाहले इजरायली सेनाले युद्धविराम उल्लङ्घन गरेको भन्दै उत्तरी इजरायलमा सैनिक लक्ष्यहरूमा रकेट आक्रमण गरेको दाबी गरेको छ ।
बिहीबार बिहान हिजबुल्लाहले दक्षिणी लेबनानको अल–कान्तारा सहरमा इजरायली सैनिक र सवारी साधनहरूलाई लक्षित गर्दै रकेटहरू प्रहार गरेको र चकिफ क्यासल नजिकैको इजरायली कमान्ड पोस्टमा दुई ड्रोन आक्रमण गरेको जनाएको छ ।
यसअघि युद्ध रोक्ने उद्देश्यले प्रस्ताव गरिएको युद्धविराम अप्रिल १७ मा लागू हुने भनिए पनि दुवै पक्षले एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै निरन्तर आक्रमण जारी राखेका थिए । हिजबुल्लाहका वरिष्ठ अधिकारी महमुद कोमातीले समूहले ‘आंशिक युद्धविराम स्वीकार नगर्ने’ स्पष्ट पारेका थिए ।
यसैबीच मानवीय क्षति पनि बढ्दै गएको छ । लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सी ९एनएनए० का अनुसार राजधानी बाहिरको मुख्य राजमार्गमा कारलाई लक्षित इजरायली आक्रमण भएको छ । इजरायली सेनाले धेरै गाउँ खाली गर्न चेतावनी दिएपछि दक्षिणी क्षेत्रमा २० भन्दा बढी स्थानमा आक्रमण भएको रिपोर्ट गरिएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार टायर सहर नजिक अल–हवास क्षेत्रमा भएको इजरायली आक्रमणमा चार सिरियाली र दुई प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । तर इजरायली सेनाका प्रवक्ताले एएफपीको जेरुसेलम ब्युरोलाई उक्त क्षेत्रमा कुनै आक्रमण भएको जानकारी नभएको प्रतिक्रिया दिए ।
स्वास्थ्य मन्त्रालयले दक्षिणी क्षेत्रमा अन्य आक्रमणहरूमा एम्बुलेन्सलाई पनि लक्षित गरिएको र हिजबुल्लाहसँग आबद्ध अमल आन्दोलनको रिसाला स्काउट्स एसोसिएसनका दुई प्यारामेडिक्स मारिएको जनाएको छ । मन्त्रालयले क्षतिग्रस्त एम्बुलेन्सका तस्बिरहरू सार्वजनिक गर्दै गाडीभित्रका मेडिकल सामग्री सडकभरि छरिएको देखिएको बताएको छ ।
जिब्डिन सहरमा हिजबुल्लाहसँग सम्बन्धित इस्लामिक स्वास्थ्य समितिसँग आबद्ध एम्बुलेन्स टोलीमाथि भएको अर्को आक्रमणमा थप एक प्यारामेडिकको मृत्यु भएको एनएनएले जनाएको छ । द्वन्द्व सुरु भएदेखि हालसम्म कम्तीमा १३० आपतकालीन तथा स्वास्थ्यकर्मीहरूको ज्यान गइसकेको छ ।
लेबनानी सेनाले पनि इजरायली आक्रमणमा एक सैनिकको मृत्यु भएको र छुट्टै घटनामा एक अधिकारी तथा एक सैनिक घाइते भएको जनाएको छ । सेनाले इजरायलले सैनिक, सवारी साधन र सैन्य स्थानहरूलाई योजनाबद्ध रूपमा लक्षित गरेको भन्दै कडा निन्दा गरेको छ । रासस












प्रतिक्रिया