काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्य लिएर सरकार अगाडि बढेको बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट: नीति संवाद’ कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विगतमा जस्तो नीतिगत तहमा हुने पोलिसी कब्जा र माइक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढेको स्पष्ट पारेका हुन् ।
साथै, आफु अर्थमन्त्री नियुक्त भएको २ महिनाभित्र (सीमित समय) मा नै बजेट ल्याउनुपर्ने हुँदा केही कमी कमजोरी भएको स्वीकार्दै उनले आगामी आवको बजेटले ५ वर्षको बजेटको जग हालेको समेत बताए । आगामी वर्षहरुमा क्रमश सुधारकाकार्यक्रम थप हुँदै जाने जानकारी दिए ।
‘५ वर्षमा के–के कार्यक्रम गर्ने भन्ने कार्ययोजना स्पष्ट छ ।’ उनले भने, ‘पाँच वटा बजेटको कल्पना गरेर यो पहिलो पटकको बजेट ल्याएका हौँ ।’ आगामी बजेटमा भएका कमी कमजोरीलाई सुधार्दै अघि बढ्ने उनको भनाई छ ।
अर्थमन्त्री वाग्लेले समयसँगै बजेटको स्रोतको पनि कमी रहेको बताए । बजेटमा ७० प्रतिशत कहाँ खर्च हुने पहिले नै यकिन हुने र बाँकी ३० प्रतिशतले अन्य योजनाका कामहरु हुने उनले स्पष्ट पारे ।
उनले समग्रमा अत्यन्त संयमित र जिम्मेवारी गरेर बजेट ल्याएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरण सुधार, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको आधारमा मूल्याङ्कन गर्ने बताए । उनले बजेटले दशकौँदेखि अर्थतन्त्रमा रहेको संरक्षणवाद, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्र तोड्ने प्रयास गरेको भन्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले बजेट के कस्तो भन्नेभन्दा पनि यसको सफल कार्यान्वयनमा जोड दिएका थिए । विगतमा बजेटमा समेटिएका विषयको प्रभावकारी कार्यान्वयन नहुँदा नतिजा पनि कमजोर हुने गरेकामा अब त्यस्तो अवस्था आउन नहुनेतर्फ अर्थमन्त्री वाग्लेलाई सुझाव दिएका थिए ।












प्रतिक्रिया