नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह


काठमाडौँ । तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ ।

नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी सडक अधिकार क्षेत्र तथा सडकपेटी अवरुद्ध हुने गरी बनाइएका पक्की संरचना, बरन्डा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो । नगर कार्यपालिकाको यही जेठ २२ गतेको २३८ औँ बैठकको निर्णयअनुसार ३५ दिने सूचना जारी गरिएको इन्जिनियर अमृत केसीले जानकारी दिए ।

यस अवधिभित्र सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना सम्बन्धित घरधनी आफैँले हटाएर सहयोग गरिदिन अनुरोध गरिएको उनले बताए ।

समय सीमाभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी त्यस्ता संरचना हटाउने सूचनामा उल्लेख छ ।

इन्जिनियर केसीले भने,“सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्नु सबै नगरवासीको कर्तव्य हो । त्यसैले त्यस्ता संरचना हटाउन सम्बन्धित घरधनी तथा सरोकार भएकाहरूलाई आग्रह गरिएको छ ।”

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।