काठमाडौं । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ ।
आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
“फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरु हुन्छ ।”
फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताए।












प्रतिक्रिया