जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा मनाउँदै ह्वाइट हाउस परिसरमै भव्य युएफसी प्रतियोगिता आयोजना गरेका छन । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएको यो कार्यक्रमले खेल, राजनीति र राष्ट्रिय उत्सवलाई एकै मञ्चमा ल्याएको छ भने यसको स्वरूपलाई लिएर विवाद पनि चर्किएको छ ।

‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) का चर्चित खेलाडीहरू ‘द क्लो’ नामक विशाल अखाडामा प्रतिस्पर्धा गर्दैछन् । करिब ६ करोड डलर लागतको यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको भए पनि राष्ट्रपति ट्रम्पको ८०औँ जन्मदिनसँग संयोगवश जुधेको छ ।

कार्यक्रमलाई लिएर आलोचना पनि भइरहेको छ । आलोचकहरूले इरानसँग तनाव र युद्धको अवस्था जारी रहेका बेला ह्वाइट हाउसको ऐतिहासिक परिसरमा हिंसात्मक खेल आयोजना गर्नु अनुपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार युद्धका कारण विश्व बजारमा मूल्यवृद्धि भइरहेका बेला यस्तो प्रदर्शनले गलत सन्देश दिन सक्छ ।

यद्यपि राष्ट्रपति ट्रम्पले कार्यक्रमको खुलेर समर्थन गरेका छन । मे महिनामा ओभल अफिसमा युएफसी खेलाडीहरूसँग भेटघाटका क्रममा उनले यसलाई दर्शकका लागि अविस्मरणीय अनुभव हुने बताएका थिए ।

ह्वाइट हाउसका अनुसार कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले नै व्यहोरेको छ । युएफसीका प्रमुख सामग्री अधिकारी क्रेग बोर्सारीले खेल र राजनीतिलाई जोडिएको आरोप अस्वीकार गर्दै यो अमेरिकी खेलाडी र राष्ट्रको उत्सव भएको बताए।

कार्यक्रमलाई अझ विशेष बनाउन केही खेलाडीहरू ऐतिहासिक ओभल अफिसबाट बाहिर निस्केर साउथ लनस्थित अखाडासम्म पुग्ने व्यवस्था गरिएको छ । आठ कोण भएको तारजालीयुक्त पिँजडा अर्थात् अष्टभुजभित्र हुने प्रतिस्पर्धा हेर्न चार हजारभन्दा बढी दर्शकका लागि सिटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।