जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन


काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ सङ्कलन गरेको छ ।

यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६ रुपैयाँ, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ रुपैयाँ सङ्कलन गरेको छ ।

विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड ४४ हजार रुपैयाँ, टोखाले १० करोड ९९ लाख २३ हजार रुपैयाँ, चाबहिलले ३१ करोड ४२ लाख १९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका थिए ।

यस्तै, गत चैतमा कुल छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ राजस्व सङ्कलन गरेका थिए । त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ र गत माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।