काठमाडौँ । बागबजारस्थित काठमाडौँ मोडल कलेज (केएमसी) को टेकभर्स क्लबद्वारा आयोजित बीसीए विद्यार्थीका लागि समर्पित राष्ट्रियस्तरको ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सफलतापूर्वक सम्पन्न भएको छ। बीसीए विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यस्तो प्रकृतिको ह्याकाथन नेपालमै पहिलो पटक आयोजना गरिएको कलेजको दाबी छ।
असार ५ देखि ७ गतेसम्म केएमसी परिसरमा ४८ घण्टासम्म सञ्चालन भएको यस ह्याकाथनमा देशभरका विभिन्न कलेजबाट छनोट भएका विद्यार्थी टोलीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताका क्रममा सहभागी टोलीहरूले वास्तविक जीवनका समस्याहरूलाई प्रविधिमार्फत समाधान गर्ने उद्देश्यका साथ विभिन्न नवप्रवर्तनात्मक परियोजनाहरू विकास गरेका थिए।
प्रविधि र नवप्रवर्तनमा जोड
ह्याकाथनको उद्घाटन सत्रमा सहभागीहरूलाई प्रतियोगिताको उद्देश्य, नियमावली तथा मूल्याङ्कन प्रक्रियाबारे जानकारी गराइएको थियो। कार्यक्रमका प्रमुख वक्ता एवं कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान फेडेरेसन) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधि, नवप्रवर्तन र सहकार्यमार्फत समाजका वास्तविक समस्याहरूको समाधान खोज्न विद्यार्थीहरूलाई प्रेरित गरेका थिए।
प्रतियोगिता अवधिभर सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रका विज्ञ र उद्योगसँग आबद्ध मेन्टरहरूले सहभागी टोलीहरूलाई प्राविधिक तथा व्यावहारिक मार्गदर्शन प्रदान गरेका थिए ।
यस्ता छन् प्रतियोगिताका विजेताहरू
समापन समारोहमा सहभागी टोलीहरूले आ–आफ्नो परियोजना तथा प्रोटोटाइपहरू विशेषज्ञ निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए। निर्णायकहरूले परियोजनाहरूको मूल्याङ्कन नवप्रवर्तन, प्राविधिक कार्यान्वयन, व्यवहारिकता, प्रभावकारिता तथा प्रस्तुतीकरणका आधारमा गरेका थिए।
केएमसीको ‘टिम इनोभेटर्स’ अन्तर्गत (कसम थापा मगर, सम्राट घिमिरे र अशोक चौधरी) विजेता भएका छन् ।
त्यसैगरी, प्रथम उपविजेता प्राइम कलेजको ‘टिम मेन्टोस’ (उत्सव डंगोल, संचित महर्जन, अमित राउत र बिशेष महर्जन) र द्वितीय उपविजेता न्यु समिट कलेजको ‘टिम ए सोल्भ जेड’ (अंकिता मैनाली, योगेश दाहाल र आयुष श्रेष्ठ) भएका छन् ।
विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरिएको थियो। यसका साथै विभिन्न साझेदार संस्थाहरूबाट प्रायोजित गिफ्ट भौचर, तालिम तथा प्रविधिसम्बन्धी विशेष सुविधाहरूसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदान गरिएका पुरस्कारहरूको कुल मूल्य १ लाख रुपैयाँभन्दा बढी रहेको थियो।










प्रतिक्रिया