भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति


एक शताब्दीभन्दा बढी समयमा भेनेजुएलामा गएका दुई ठूला विनाशकारी भूकम्पका कारण बिहीबार दिउसोसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ । भूकम्पमा परी राजधानी र नजिकैका धेरै भवनहरूमा व्यापक क्षति पुगेको छ । बिहीबार स्थानीय बासिन्दाहरू आफ्नै क्षमतामा हराएका आफन्तहरूको खोजीमा व्यस्त देखिएका पाइन्थ्यो ।

बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा ७.२ म्याग्निच्युड र ७.५ म्याग्निच्युडको भूकम्प भेनेजुएलाको सन् १९०० यताको सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन् ।

उद्धारकर्मी र स्थानीयहरूले भूकम्पपछि भत्किएका अपार्टमेन्टहरूमा अँध्यारोमा माथि चढेर बाँचेकाहरूको खोजी गर्न र भग्नावशेषमुनि पुरिएकाहरूलाई निकाल्ने प्रयास गरिरहेको देखिन्थ्यो ।

फ्रान्स, स्पेन र अमेरिकाले तत्काल उद्धार टोली पठाउने प्रस्ताव गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा म्याग्निच्युड ७.२ र ७.५ को भूकम्प गएको थियो।

उद्धार र खोजी कार्य जारी रहेको र भूकम्पले ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् । क्षतिको प्रकृति हेर्दा मृतक सङ्ख्या अहिलेकोभन्दा निकै बढ्नेअनुमान गरिएको उनीहरूले बताएका छन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले कम्तीमा १६४ जनाको मृत्यु भएको र ९७० भन्दा बढी घाइते भएको बताएका छन् । भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।

ला गुएराको काटिया ला मार शहरमा आफ्नो परिवार पुरिएको भत्किएको भवनको अगाडि उभिएका ४९ वर्षीय ल्यारी रोहासले एएफपीसँग भने, “अहिले हामीसँग केही पनि छैन । न त शक्ति छ, न साहस नै । उद्धारका लागि भग्नावशेषमा पस्ने कल्पना पनि गर्न सकिँदैन । भूकम्पपछि लगातार पराकम्पहरू गइरहेका छन् ।”

तटीय शहरमा विद्युत आपूर्ति बन्द भएका छन् र धेरै बासिन्दाहरू सडकमा रात बिताएका वा आफन्तहरूको खोजीमा व्यस्त रहेका सञ्चारकर्मीहरूले बताएका छन् ।

बुधबार गएको ७.५ म्याग्निच्युडको भूकम्प सन् १९०० अक्टोबर २९ मा समुद्रमा गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि गएको भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

उपकरण र जनशक्तिको अभावमा उद्धारकार्य प्रभावित

बुधबारको भूकम्पपछि केही आवासीय भवनहरूमा ठूला चिरा परेका र पर्खालहरू भत्किएका थिए भने दर्जनौं भवन पूरै ध्वस्त भएका थिए ।

“त्यहाँ मानिसहरू जीवित छन् तर कसैले उनीहरूलाई बचाउन आइरहेको छैन”, एउटी महिलाले आफ्नी छोरीको उद्धारमा खटेका स्थानीयमार्फत् खबर पर्खिरहँदा भग्नावशेषको एक छेउमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा बताए । “छोरी १२ तले भवन भत्किएर बनेको भग्नावशेषमा पुरिएकी छन् ।”

फ्रान्सले ८५ जना उद्धारकर्मी पठाउने र स्पेनले ५४ जना सैनिक उद्धार तथा खोजी टोली पठाउने घोषणा गरेको छ । चीन, भारत, ब्राजिल र अमेरिका लगायतका देशहरूले पनि सहयोगको प्रस्ताव गरेका छन् ।

“अमेरिकाले तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता भेनेजुएला पठाउने तयारी गरिसकेको छ,” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार भने ।

मोरोन तटीय शहरबाट २१ किलोमिटर पश्चिममा केन्द्रविन्दु बनाएर ७.२ पहिलो भूकम्प बुधबार साँझ १०ः०४ बजे गएको थियो । एक मिनेटभित्रै त्यसको ४५ किलोमिटर टाढा ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण विभागले जनाएको छ ।

गृहमन्त्री डियोस्डाडो काबेल्लोले सुरक्षाको लागि धेरै भवनहरूमा ग्यास आपूर्ति बन्द गरिएको र जनतालाई घरबाट बाहिर निस्कन आग्रह गरेका छन् ।

“हाम्रा केही संरचनाहरू क्षतिग्रस्त छन् र हामी ग्याससम्बन्धी कुनै दुर्घटना हुनबाट रोक्न ग्यासको आपूर्तिलाई बन्द गरेका छौँ,” उनले भने ।

काराकास नजिकै रहेको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधारमा ‘गम्भीर क्षति’ भएकाले बन्द गरिएको छ । सामाजिक सञ्जालहरूमा विमानस्थलको क्षतिग्रस्त तस्बिरहरू सार्वजनिक भएका छन् ।

भूकम्पले राजधानीमा त्रास फैलाएको थियो र मानिसहरू सडकमा निस्किएका देखेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

एएफपीका एक पत्रकारले राजधानीको अल्टामिरा इलाकामा एउटा २२ तले भवन पूरै ध्वस्त भएको आफूले देखेको पुष्टि गरेका छन् ।

भूकम्प क्रमशः २२ किलोमिटर र १० किलोमिटरको गहिराइमा केन्द्रविन्दु बनाएर गएका थिए ।

काराकासको एउटा व्यापारिक भवनमा भूकम्पले त्रास फैलाएको एएफपी पत्रकार खिचेको तस्वीरमा देख्न सकिन्छ ।

“यो अविश्वसनीय थियो, मलाई थाहा छैन कति समयसम्म चलेको थियो,” पसल सञ्चालक हेडी रोमेरोले भने । उनी भूकम्प जाँदा माथिल्लो तलामा रहेको बताए । “हामीलाई ‘आकस्मिक प्रयोग’का लागि बनाइएको भ¥याङबाट बाहिर निस्किन सहयोग गरिएको थियो,” ४२ वर्षीया रोमेरोले बताए ।

राजधानीका धेरै मानिसहरू भवनबाट बाहिर निस्केर केही समय बाहिर बसेपछि कार्यालय र घर फर्किएका थिए।

भूकम्पबाट ट्रुजिलो, काराबोबो, मिरान्डा र ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएका छन्।

भूकम्पको प्रभाव कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो । त्यहाँ पनि भूकम्पको चेतावनी दिँदै घण्टी बजेपछि केही बासिन्दाहरू सतर्कताका लागि भवनबाट बाहिर निस्किएका थिए ।

भूकम्पका लागि जोखिमयुक्त मानिने भेनेजुएलाको हालैका इतिहासमा सबैभन्दा शक्तिशाली भूकम्प सन् १९९७ मा उत्तर–पूर्वमा गएको थियो जसमा ७३ जनाको मृत्यु भएको थियो । त्यस्र्त अर्को सन् १९६७ मा काराकासमा गएको भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  १८ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।