पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते


पूर्वी भारतको पश्चिम बङ्गालस्थित एक पेट्रोकेमिकल प्लान्टमा आज भएको आगलागीमा कम्तीमा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आगलागी हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित प्लान्टको नेफ्था पाइपलाइनमा भएको थियो । पश्चिम बङ्गालको पूर्वा मेदिनीपुर जिल्लास्थित उक्त क्षेत्रमा तीव्र रूपमा आगो फैलिएको थियो । यो क्षेत्र प्यपिबतब बाट करिब १३० किलोमिटर दक्षिणपश्चिममा पर्छ ।

प्रहरीका अनुसार आगो नियन्त्रणका लागि १२ वटा दमकल परिचालन गरिएको थियो । घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये प्लान्टका कामदार तथा कम्तीमा दुई जना सुरक्षा गार्ड रहेका छन् ।

घटनास्थलबाट प्राप्त दृश्यमा जलिरहेको पाइपलाइनबाट बाक्लो कालो धुवाँ निस्किएको तथा अग्निनियन्त्रकले पानीको फोहोरा प्रयोग गरी आगो नियन्त्रणमा लिएको देखिएको छ ।

नेफ्था इन्धन तथा विभिन्न रसायन उत्पादनमा प्रयोग हुने अत्यधिक ज्वलनशील पेट्रोलियम पदार्थ हो ।

आगलागीको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ । हल्दिया पेट्रोकेमिकल्सले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार  १७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।