ऊर्जाको मूल्यवृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ । यसले युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले आगामी बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना बलियो बनाएको छ ।
युरोस्ट्याटका अनुसार २१ सदस्यीय युरोजोनमा उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा जुनमा दुई दशमलव आठ प्रतिशतले बढेको छ । मे महिनामा यो दर तीन दशमलव दुई प्रतिशत रहेको थियो ।
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपछि इन्धनको मूल्यमा आएको कमीले समग्र मुद्रास्फीति इसीबीको दुई प्रतिशतको लक्ष्यनजिक फर्किन सहयोग पुगेको विश्लेषण गरिएको छ ।
जुनमा युरोजोनमा ऊर्जाको मूल्य आठ दशमलव सात प्रतिशतले बढेको छ, जबकि मे महिनामा यो वृद्धि १० दशमलव आठ प्रतिशत थियो । खाद्यवस्तु र सेवा क्षेत्रमा पनि मूल्यवृद्धि सुस्त बनेको छ । खाद्य मुद्रास्फीति एक दशमलव छ प्रतिशत र सेवा क्षेत्रको मुद्रास्फीति तीन दशमलव दुई प्रतिशतमा झरेको छ भने औद्योगिक वस्तुको मुद्रास्फीति शून्य दशमलव नौ प्रतिशतमै स्थिर रहेको छ ।
यसअघि सार्वजनिक राष्ट्रिय तथ्याङ्कले युरोजोनका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, जर्मनी र इटालीमा पनि मुद्रास्फीति घटेको देखाएका थिए । जुन महिनाको समग्र मुद्रास्फीति विश्लेषकले अनुमान गरेको तीन प्रतिशतभन्दा पनि कम रहेको जनाइएको छ ।
ऊर्जा र खाद्यवस्तुको मूल्यलाई समावेश नगर्ने ‘कोर मुद्रास्फीति’ पनि मे महिनाको दुई दशमलव छ प्रतिशतबाट घटेर जुनमा दुई दशमलव चार प्रतिशत पुगेको छ ।
यसअघि सन् २०२३ पछि पहिलोपटक गत महिना ब्याजदर बढाएको ईसीबीले आगामी जुलाई २३ मा हुने मौद्रिक नीति बैठकमा पुनः दर वृद्धि नगर्ने अपेक्षा विश्लेषकले गरेका छन् ।
क्यापिटल इकोनोमिक्सका विश्लेषक ज्याक एलेन–रेनोल्ड्सले मुद्रास्फीतिमा आएको सुधारले थप ब्याजदर वृद्धि आवश्यक नदेखिएको उल्लेख गर्नुभएको छ । अक्सफोर्ड इकोनोमिक्सका टोमस ड्वोरकले पनि मुद्रास्फीतिको प्रवृत्तिले थप दरवृद्धिको सम्भावना न्यून रहेको बताउनुभएको छ ।
इसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले गत साता युरोपेली सांसदसँगको छलफलमा घट्दो ऊर्जा मूल्य र मूल्यवृद्धिलाई थप चर्काउने दबाब कमजोर रहेकाले तत्काल थप कडा मौद्रिक नीति आवश्यक नरहेको बताउनुभएको थियो ।










प्रतिक्रिया