काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकमध्ये अधिकांशले विदेशमा काम सुरु गरेको पहिलो महिनामा २० हजारदेखि ४० हजार रुपैयाँसम्म तलब पाएको एक सर्वेक्षणले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा तयार पारेको सर्वेक्षणअनुसार ४३ प्रतिशत श्रमिकले पहिलो महिनामा २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ कमाएका थिए भने २६ प्रतिशतले ४० हजार देखि ६० हजार रुपैयाँ आम्दानी गरेका थिए । ६० हजार रुपैयाँभन्दा बढी कमाउनेको हिस्सा भने ९ प्रतिशतभन्दा केही बढी रहेको छ ।

तलबबाहेक भत्ता, बोनस तथा अन्य सुविधाबाट हुने आम्दानी भने अधिकांशका लागि न्यून रहेको देखिएको छ । करिब ७६ प्रतिशत फर्किएका श्रमिकले यस्ता अतिरिक्त सुविधाबाट महिनामा २० हजार रुपैयाँभन्दा कम आम्दानी गरेको सर्वेक्षणले जनाएको छ ।
सर्वेक्षणअनुसार वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको औसत मासिक आम्दानी ५४ हजार ३३५ रुपैयाँ रहेको छ भने मध्य (मिडियन) आम्दानी ४८ हजार २०० रुपैयाँ रहेको छ । औसत आम्दानी मध्य आम्दानीभन्दा बढी भएकाले केही उच्च आम्दानी गर्ने श्रमिकका कारण समग्र औसत बढेको देखिन्छ ।

उमेरका आधारमा हेर्दा २५ वर्ष वा सोभन्दा माथिका श्रमिकको औसत मासिक आम्दानी ५७ हजार २५४ रुपैयाँ रहेको छ भने उनीहरूको मध्य आम्दानी ४५ हजार १६४ रुपैयाँ छ । १५–२४ वर्ष उमेर समूहको औसत आम्दानी ४६ हजार ११ रुपैयाँ र मध्य आम्दानी ४० हजार रुपैयाँ रहेको छ। अनुभव र लामो कार्यअवधिका कारण उमेर बढेसँगै उच्च पारिश्रमिक पाउने सम्भावना बढ्ने अध्ययनले औंल्याएको छ ।
सर्वेक्षणको अनुसार सन् २०२३ मा नेपालको कुल जनसंख्या २ करोड ९६ लाखमध्ये २४ लाख ५० हजार (८.३ प्रतिशत) जनसंख्या फर्किएका आप्रवासी रहेको देखिएको छ । यसमध्ये १६ लाख १० हजार (५.४ प्रतिशत) जनसंख्या विदेशमा काम गरी नेपाल फर्किएको पाइएको छ । विदेशमा काम गरी फर्किएका नेपाली आप्रवासीमध्ये २ लाख ८३ हनार ६८६ (१५.७ प्रतिशत) श्रमिक विगत ५ वर्षको अवधिभित्र वैतनिक रोजगारीमा विदेश गएको समेत देखिएको छ ।
सर्वेक्षण अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकमध्ये पुरुषको आम्दानी महिला श्रमिकको तुलनामा बढी देखिएको छ । पुरुषको औसत आम्दानी ६४ हजार ७२१, मध्यिका ४४ हजार ५०५ रुपैयाँ रहेको सर्वेक्षणको निष्कर्ष छ । महिलाको मासिक औसत आम्दानी ४८ हजार ६४७ रुपैयाँ र मध्यिका ३० हजार ९२० रुपैयाँ रहेको छ । यसले विदेशमा आप्रवासी श्रमिको मासिक आय असमान रहेको संकेत गरेको छ ।
गन्तव्य मुलुकका आधारमा हेर्दा मलेसियाबाट फर्किएका श्रमिकको औसत मासिक आम्दानी सबैभन्दा बढी ५५ हजार ७८८ रुपैयाँ रहेको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) का श्रमिकको औसत आम्दानी ५५ हजार ६७५ रुपैयाँ रहेको छ। भारतबाट फर्किएका श्रमिकको औसत मासिक आम्दानी सबैभन्दा कम २५ हजार ८८ रुपैयाँ रहेको सर्वेक्षणले देखाएको छ।
पेसागत आधारमा हेर्दा उच्च दक्ष पेशामा कार्यरत श्रमिकको औसत मासिक आम्दानी ६९ हजार ७ रुपैयाँ रहेको छ, जुन सबैभन्दा बढी हो। अर्धदक्ष (क्झष्–कपष्ििभम) श्रमिकको औसत आम्दानी ५४ हजार ७२६ रुपैयाँ, प्रारम्भिक (भ्झिभलतबचथ) पेशामा कार्यरतको ४२ हजार ७०२ रुपैयाँ तथा कृषि क्षेत्र मा काम गर्नेको औसत आम्दानी ३४ हजार ५२५ रुपैयाँ रहेको छ।
क्षेत्रगत रूपमा हेर्दा निर्माण (ऋयलकतचगअतष्यल) क्षेत्रमा काम गर्ने श्रमिकको औसत मासिक आम्दानी ६५ हजार ३४८ रुपैयाँ रहेको छ, जुन अन्य क्षेत्रभन्दा उच्च हो। सेवा क्षेत्र मा कार्यरतको औसत आम्दानी ६३ हजार ५४२ रुपैयाँ तथा उत्पादन क्षेत्रमा कार्यरतको ४६ हजार १६२ रुपैयाँ रहेको सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको आम्दानी उमेर, गन्तव्य मुलुक, सीपको स्तर र कामको प्रकृतिअनुसार उल्लेख्य रूपमा फरक हुने देखाएको छ। विशेष गरी उच्च सीप, लामो अनुभव र तुलनात्मक रूपमा राम्रो पारिश्रमिक दिने गन्तव्य मुलुकमा काम गर्ने श्रमिकले औसतभन्दा बढी आम्दानी गर्ने गरेको अध्ययनले निष्कर्ष निकालेको छ।
३४.७ प्रतिशत श्रमिकले मात्र पाए शून्य भर्ना लागत
सर्वेक्षण अनुसार समग्रमा ३४.७ प्रतिशत नेपाल फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी श्रमिकले वैदेशिक रोजगारी प्राप्त गर्न कुनै पनि किसिमको शूल्क वा अन्य लागत तिर्नु नपरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक महिलामध्ये ५४.२ प्रतिशत महिला श्रमिकले कुनै लागत तिर्नु नपरेको बताएका थिए । पुरुषमा भने यो अनुपात ३३.२ प्रतिशत मात्र रहेको छ । क्षेत्रगत रुपमा हेर्दा सेवा क्षेत्रमा कार्यरत श्रमिकमा शून्य लागतको अनुपात सबैभन्दा उच्च ३७.२ प्रतिशत, उद्योगमा ३२.८ प्रतिशत र कृषिमा २९.५ प्रतिशत रहेको छ ।
अन्य कामदारले भने उच्च लागत तिरेर विदेश जानु परेको अवस्था देखिएको छ । सर्वेक्षण अनुसार पुरुषले औसत १ लाख ७६ हजार ६८६ रुपैयाँ र मध्यिका खर्च १ लाख ७० हजार रुपैयाँसम्म गर्नुपरेको देखिएको छ । महिलाको लागत हेर्दा औसत भर्ना लागत २ लाख १९ हजार ३६२ र मध्यिका १ लाख २० हजार सम्म लागत लागेको छ ।
क्षेत्र र सिप अनुसार भर्ना लागत हेर्दा सेवा क्षेत्र र उच्च सिपयुक्त पेशामा भर्ना लागत उच्च रहेको छ । कृषिमा भने सबैभन्दा कम लागत रहेको सर्वेक्षणबाट देखिएको छ ।










प्रतिक्रिया