काठमाडौँ । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित वागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिएका हुन् ।
कार्यकारी निर्देशक साहकाअनुसार मेलम्चीबाट दैनिक प्राप्त हुने १८ देखि २० करोड लिटर पानी आपूर्ति बन्द भएपछि केयुकेएलले वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा शिवपुरीस्थित वागमतीको पानी ल्याउने ५–६ वर्ष पुरानो योजनालाई तिब्रता दिएको छ ।
हाल वागमतीबाट दैनिक २ करोड लिटर पानी आपूर्ति भइरहेकोमा अब थप पाइपलाइन विस्तार गरी त्यसको क्षमता बढाइने भएको छ । पहिलेका दुई वटा १४ इन्चका पाइपका अतिरिक्त २० इन्चको नयाँ पाइप थप गर्ने कार्य हिजोबाटै सुरु भइसकेको छ ।
‘हामीले त्यो शिवपुरीको निकुञ्जबाट बागमतीको नदीबाट अहिले जुन २ करोड प्रतिलिटर पानी आइरहेको भोल्युमलाई थप पाइपहरू, पहिले हाम्रो १४ इन्चको दुई वटा पाइपबाट पानी सप्लाई गरेको थियो, त्यसलाई हामीले अर्को पाइप २० इन्चको पाइप थप गरेर हिजोबाट हामी काम शुरु गरेका छौं,’ उनले भने, ‘त्यसमा हामीसँग भएकै पाइप, डीआई पाइपहरू लगभग २०० मिटर र बाँकी एचडीपीई पाइप ५०० एमएम डायामिटरको त्यसलाई हामीले खरिद प्रक्रियाबाट खरिद गर्नेछौँ र त्यो लक्ष्य हामीले एक महिना भित्रै, ३ हप्ता देखि १ महिना भित्रै प्राप्त गर्छौं ।
उक्त आयोजनाका लागि आवश्यक २०० मिटर डीआई पाइप संस्थासँगै उपलब्ध रहेको र बाँकी ५०० एमएमको एचडीपीई पाइप खरिद प्रक्रियामार्फत व्यवस्था गरिने साहले बताए ।
आगामी तीन हप्तादेखि एक महिनाभित्र यो कार्य सम्पन्न गरी उपत्यकामा थप ४ देखि ५ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । यसबाट चक्रपथभित्र मेलम्चीको पानी अभावका कारण प्रभावित क्षेत्रमा राहत पुग्ने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया