काठमाडौँ । चालु आर्थिक वर्षमा २०८२/८३ मा कृषि उपजको उत्पादक मूल्य सूचकांक (किसानले कृषि उत्पादन बेच्दा पाउने मूल्य) बढेको छ । राष्ट्रि तथ्यांबक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा कृषि उपजको उत्पादक मूल्य सूचकांक (एपीपीआई) ३.०४ प्रतिशतले बढेर १९०.२० पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मूल्य सुचकांक १८४.५९ रहेको थियो ।
कार्यालयको प्रतिवेदन हेर्दा समग्र कृषि उत्पादक मूल्य सूचकाङ्क ( एपीपीआई) आर्थिक वर्ष २०७०/७१ को तेस्रो त्रैमासिकमा १०९.६३ रहेकोमा चालु आवमा बढेर १९०.२० पुगेको छ । कार्यालयका अनुसार १३ वर्षको अवधिमा कृषि उपजको उत्पादक मूल्यमा करिब ७३ प्रतिशतले वृद्धि हुँदा औसत वार्षिक चक्रवृद्धि करिब ४.३ प्रतिशत रहेको छ ।
वस्तु समूहगत रूपमा हेर्दा फलफूलको मूल्य सबैभन्दा तीव्र गतिमा बढेको छ । फलफूल समूहको सूचकांक वार्षिक रूपमा ९.३१ प्रतिशतले बढेको छ । त्यस्तै तरकारीको मूल्य ७.१६ प्रतिशत र तेलहनको मूल्य ६.१२ प्रतिशतले वृद्धि भएको छ ।
फलफूल समूहमा केराको मूल्य सबैभन्दा बढी बढेको छ । केराको उत्पादक मूल्य सूचकांक १२.६७ प्रतिशतले वृद्धि भएको छ । उत्पादन क्षेत्रबाट बजारसम्मको आपूर्ति, आयातमा देखिएको अवरोध र ढुवानी प्रणालीमा आएको परिवर्तनले केराको मूल्यमा प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ ।
तरकारी समूहमा काउलीको मूल्य १३.३७ प्रतिशत, बन्दागोभीको ११.३२ प्रतिशत र गोलभेँडाको ९.६६ प्रतिशतले बढेको छ । मौसमजन्य प्रभाव, उत्पादनमा आएको कमी र माग वृद्धिका कारण तरकारीको मूल्यमा सुधार आएको प्रतिवेदनले औंल्याएको छ ।
तेलहन समूहको सूचकांक ६.१२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा खानेतेलको मूल्य, आपूर्ति अवरोध तथा स्वदेशी तोरीको माग बढेका कारण तेलहनको मूल्यमा वृद्धि भएको उल्लेख गरिएको छ ।
खाद्यान्न समूहको उत्पादक मूल्य ३.४ प्रतिशतले बढेको छ । गहुँको मूल्य ३.३१ प्रतिशत र जौ÷उवाको मूल्य ४.०४ प्रतिशतले वृद्धि भएको छ ।
मसला समूहमा भने गिरावट आएको छ । प्याजको मूल्य ५.५४ प्रतिशतले घटेपछि समग्र मसला समूहको सूचकांक २.४० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । भारतबाट प्याज आपूर्ति सहज भएपछि मूल्य घटेको बताइएको छ ।
पशुपन्छी तथा पशुजन्य उत्पादनतर्फ पशुपन्छी समूहको उत्पादक मूल्य २.७१ प्रतिशतले बढेको छ । दूधको मूल्य १.४४ प्रतिशत, अण्डाको ३.१३ प्रतिशत र माछाको मूल्य ३.०६ प्रतिशतले वृद्धि भएको छ । कुखुराको मूल्य भने करिब स्थिर रहेको छ ।
प्रतिवेदन अनुसार कृषि उत्पादक मूल्यमा निरन्तर वृद्धि हुनुमा उत्पादन लागतमा भएको वृद्धि, आपूर्ति शृंखलामा देखिएका अवरोध, सहरीकरण तथा आम्दानी वृद्धिसँगै बढेको आन्तरिक मागलगायत कारण रहेका छन् ।
उत्पादन लागतमा वृद्धि भएपनि यो अवधिमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी फलदायी भएको कार्यालयको दाबी छ । “सरकारले कृषिमा गरेको लगानी फलदायी भएको पाइएको छ । सुचकांकमा देखिएको निरन्तर वृद्धिको प्रवृत्तिले कृषि उत्पादन लागतमा भएको सामान्य मुद्रास्फीति, आपूर्ति पक्षका व्यवधानहरू र सहरीकरण तथा आम्दानी वृद्धिका कारण आन्तरिक रूपमा बढ्दै गएको खाद्यान्नको मागलाई जनाउँछ” प्रतिवेदनमा भनिएको छ ।
तर प्रतिवेदनले पछिल्ला तीन आर्थिक वर्षमा कृषि उत्पादक मूल्य वृद्धिदर क्रमशः घट्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा ५.९७ प्रतिशत रहेको वृद्धिदर २०८०/८१ मा ४.४७ प्रतिशत, २०८१/८२ मा ४.२४ प्रतिशत हुँदै चालु आर्थिक वर्षमा ३.०४ प्रतिशतमा झरेको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले किसानले समर्थन मूल्य नपाउने समस्या बढ्न सक्ने सरोकारवालाहरूको भनाई छ ।
तर सूचकांकको निरपेक्ष स्तर हालसम्मकै उच्च रहेकाले किसानले प्राप्त गर्ने मौद्रिक मूल्य औसतमा अझै बलियो रहेको कार्यालयको दाबी छ ।










प्रतिक्रिया