केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ ।

सूचनाअनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।