महत्त्वपूर्ण खनिजमा लगानी घट्यो : आइइए


राष्ट्रिय सुरक्षा र स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि महत्त्वपूर्ण खनिजको घरेलु उत्पादन बढाउने प्रतिबद्धता जनाउँदै आएका पश्चिमी मुलुकहरूको प्रयासबीच पनि सन् २०२५ मा विश्वव्यापी रूपमा महत्त्वपूर्ण खनिज क्षेत्रमा लगानी घटेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले जनाएको छ ।

एजेन्सीका अनुसार भूराजनीतिक तनाव, मूल्य अस्थिरता र आपूर्ति शृङ्खलामा बढ्दो एकाग्रताले खनिज क्षेत्रमा लगानी र उत्पादन दुवै प्रभावित भएका छन् ।

आइइएको वार्षिक ‘ग्लोबल क्रिटिकल मिनरल्स आउटलुक’ प्रतिवेदनअनुसार उच्च प्रविधि, एयरोस्पेस तथा स्वच्छ ऊर्जा उद्योगका लागि आवश्यक महत्त्वपूर्ण खनिजको आपूर्ति शृङ्खला झन् सीमित देशमा केन्द्रित हुँदै गएको छ । विशेषगरी प्रशोधित खनिजको क्षेत्रमा चीन र इन्डोनेसियाले पछिल्ला दुई वर्षमा विश्वव्यापी आपूर्तिमा भएको वृद्धिको तीनचौथाइभन्दा बढी हिस्सा ओगटेका छन् ।

प्रतिवेदनअनुसार आपूर्ति शृङ्खलालाई विविधीकरण गर्ने प्रयास भइरहे पनि सन् २०२५ मा विश्वभर खानी तथा खनिज प्रशोधन क्षेत्रमा गरिएको लगानी ९ प्रतिशतले घटेको छ । आइइएका प्रमुख अर्थशास्त्री टिम गोल्डले महत्त्वपूर्ण खनिजको अत्यधिक आपूर्ति एकाग्रता अब केवल सम्भावित जोखिम मात्र नभई प्रत्यक्ष आर्थिक तथा सुरक्षा चुनौतीका रूपमा देखिन थालेको बताए ।

आइइएले विशेष गरी विभिन्न देशले लागू गरिरहेका निर्यात नियन्त्रणलाई विश्व अर्थतन्त्र र आपूर्ति सुरक्षाका लागि गम्भीर चुनौतीका रूपमा औँल्याएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार चीनले सन् २०२५ को अप्रिलमा दुर्लभ पृथ्वीजन्य खनिजको निर्यातमा लगाएको नियन्त्रणका कारण केही अन्तर्राष्ट्रिय मोटर वाहन उत्पादक कम्पनीले उत्पादन घटाउन वा अस्थायी रूपमा बन्द गर्नुपरेको थियो ।

प्रतिवेदनले चीनले यस्ता निर्यात नियन्त्रण थप विस्तार गरेमा चीनबाहिर हुने वार्षिक उत्पादनमध्ये करिब ६५० खर्ब अमेरिकी डलर बराबरको उत्पादन जोखिममा पर्न सक्ने चेतावनी दिएको छ ।

यद्यपि, आइइएले केही सकारात्मक सङ्केत पनि देखिएको जनाएको छ । प्रतिवेदनअनुसार सन् २०२३ देखि २०२५ बीच महत्त्वपूर्ण खनिज क्षेत्रमा सार्वजनिक वित्तीय प्रतिबद्धता चार गुणाले वृद्धि भएको छ । साथै, संयुक्त राज्य अमेरिका र मलेसियाले दुर्लभ पृथ्वीजन्य खनिज प्रशोधनमा चीनको प्रभुत्व क्रमशः घटाउँदै लगेको आइइएले उल्लेख गरेको छ ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  १८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।