काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से उच्च अंकले बढेको छ । आज नेप्से ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा कायम भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले सेयर बजारमा चासो देखाएपछि बजार सकारात्मक बनेको छ । आज शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गरेका छन् । उनले सेयरबजारमा देखिएका समस्या समाधान गर्ने आश्वासनपछि त्यसको प्रभाव आजको बजारमा परेको हो ।
आज कुल १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयरहरु ६७ हजार १५५ पटकमा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको छन् । शुक्रबार ४ अर्ब ५६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक हरियाली भएका छन् ।
सोमबार एभरेष्ट कलर र रिग्दे लाइन इनर्जीको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, श्रीनगर एग्रिटेकको १०.९५ प्रतिशतले र सोलु हाइड्रोपावरको ९.५६ प्रतिशतले बढेको छ । यता, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८६ प्रतिशतले घटेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट कौंकको ६.८५ प्रतिशतले र लक्ष्मी उन्नती कोष ५.१५ प्रतिशतले घटेको छ ।
सोमबार कारोबार रकमका आधारमा आँखु खोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । हाइड्रोपावरको आज २९ करोड १५ लाख ५२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ४६ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार हुँदा रिडी पावर कम्पनीको २० करोड ६६ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया