काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकमा उनले नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्रअन्तर्गत पहिलो किस्ताको सुरुवात भएको बताए । उनले विगतमा भएका पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिए ।
तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री डा वाग्लेले जोड दिए।
“गएको आर्थिक वर्ष पूँजीगत खर्च करिब ४९ प्रतिशत हाराहारी मात्र रह्यो । राजस्व पनि रु साढे १२ खर्ब हाराहारीभन्दा बढी सङ्कलन भएन”, उनले भने “चालु नयाँ बजेटमा यो नतिजा स्वीकार्य हुँदैन । कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च हुनुपर्छ । करिब रु १६ खर्बको राजस्व सङ्कलन लक्ष्य पूरा हुनुपर्छ ।”
बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी र व्यावहारिक कठिनाइ निर्धक्कसँग अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढाउन अर्थमन्त्री वाग्लेले सचिवहरूलाई आग्रह गरे।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरिएको बताउँदै उनले त्यसको सदुपयोग गर्न पनि आग्रह गरे।










प्रतिक्रिया