फार्ममा अण्डाको मूल्य घट्यो, उपभोक्ता मूल्य भने यथावत


काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। संघको चितवनमा मंगलबार बसेको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी नयाँ दररेट स्वीकृत गरेको हो।

संघका अनुसार देशभरका अण्डा उत्पादकबाट प्राप्त राय, सुझाव र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो। यसअघि जेठ २८ गते कायम गरिएको समर्थन मूल्यको तुलनामा अहिले अधिकांश वर्गका अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घटाइएको छ।

नयाँ दरअनुसार सबैभन्दा ठूलो आकारको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ। यसअघि यही वर्गको मूल्य ५७५ रुपैयाँ थियो।

त्यस्तै, ठूलो आकारको अण्डाको मूल्य प्रति क्रेट ५६० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ कायम गरिएको छ। मध्यम आकारको अण्डाको मूल्य पनि ५३० रुपैयाँबाट घटाएर ४७० रुपैयाँ तोकिएको छ। यी तीनै वर्गका अण्डाको मूल्यमा प्रति क्रेट ६० रुपैयाँको कमी आएको संघले जनाएको छ।

सानो आकारको अण्डाको मूल्य पनि घटाइएको छ। यस वर्गको मूल्य प्रति पेटी ३ हजार २०० रुपैयाँबाट ३०० रुपैयाँ घटाएर २ हजार ९०० रुपैयाँ कायम गरिएको छ।

संघका अनुसार नयाँ तथा अघिल्लो दुवै मूल्य निर्धारणमा चितवनलाई आधार क्षेत्र मानेर समर्थन बिक्री मूल्य तय गरिएको हो।

फार्म तहमा अण्डाको मूल्य घटे पनि उपभोक्ताले बजारमा तिर्नुपर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। सर्वसाधारणका लागि अण्डाको बिक्री मूल्य प्रतिगोटा २५ रुपैयाँ नै यथावत् रहने जनाइएको छ

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।