नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीसहित दुईजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित दुईजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल छन् ।

उनीहरूविरुद्ध घुस लिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले आह्वान गरेको बोलपत्रमा सहभागी भई कार्य गरेका कम्पनी तथा सो कम्पनीका शेयरधनीलगायत व्यक्तिहरू समेतको खाताबाट जग्गा विक्रेतालाई रकम भुक्तानी गरी अधिकारीको श्रीमतीको नाममा जग्गा खरिदगरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

दायर गरिएका दुईवटै कसुरमा उनीहरू प्रत्येकसँग एक करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अनुसन्धान हुँदा उनीहरूले पद तथा ओहदाको दुरूपयोग गरी ठेक्काहरूमा सहजीकरणसमेत गरेर एक करोड ७१ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  १८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।