जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२र८३ मा छ अर्ब छ करोड ७८ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८.४९ प्रतिशत राजस्व सङ्कलन भएको हो । आव २०८२र८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ दुई अर्ब ५५ करोड सात लाख ३० हजार रुपैयाँ, आयकरतर्फ दुई अर्ब छ करोड ८२ लाख एक हजार रुपैयाँ र मूल्यअभिवृद्धि करतर्फ एक अर्ब २८ करोड ४० लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यस्तै ब्याजकरतर्फ सात करोड ७८ लाख तीन हजार रुपैयाँ, बहालकरतर्फ पाँच करोड २५ लाख ३७ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ चार लाख ३१ हजार रुपैयाँ र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले बताए ।
कार्यालयले अघिल्लो आव २०८१र८२ मा चार अर्ब ८८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा चार अर्ब ९० करोड रुपैयाँ सङ्कलन गरेको थियो । प्रमुख गुप्ताका अनुसार आव २०८२र८३ मा छ अर्ब ८५ करोड ७२ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार ९६८ करदाता रहेका छन् ।
करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताए ।










प्रतिक्रिया