काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँ २५ हजारसम्म सटही गर्न सक्ने व्यवस्था गरेको छ ।
विगतमा भारतीय नागरिक नेपाल भ्रमणमा आउँदा २५ हजार रुपैयाँसम्म २०० र ५०० दरका भारु नगद बोकेर आउने व्यवस्था यसअघि नै भएको थियो ।
नेपाल सरकारले २०८२ पुस २८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०० र ५०० दरका भारु २५ हजारसम्म नगद ल्याउन पाउने व्यवस्था गरेको हो । तर, २०१६ नोभेम्बरअघि निष्कासन भएका ५ सय तथा १ हजारका नोट भने प्रयोगमा ल्याउन पाइने छैन ।
विदेशी विनिमय सटहीको इजाजत लिएका जुनसुकै स्थानमा पनि सटही गर्न सकिने र त्यसरी सटही भएको रकम बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । विदेशी मुद्रा सटहीको अनुमति लिएका बाहेकका स्थान वा व्यावसायिक प्रतिष्ठानमा भने २०० र ५०० दरका भारु साट्न पाइने छैन ।
यसले नेपाल भ्रमणमा आउने भारतीयहरूलाई सहज हुनेछ । नेपाल भ्रमणमा आउने विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने छैन । तर, ५ हजार डलरभन्दा बढी नगद ल्याउनुपर्ने अवस्थामा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी सोको प्रमाणीकरण गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
नेपाली नागरिकले भारतबाहेक अन्य तेस्रो मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन भने पाउने छैनन् ।










प्रतिक्रिया