भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ


झापा । झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज दिउँसो करिब २ बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक विवेक कटुवाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको शरीर तलासी लिने क्रममा प्लास्टिकसहित सात ग्राम ५९० मिलिग्राम तथा प्लास्टिकबाहेक छ ग्राम ५०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ ।

घटनामा प्रयोग भएको प्र १–०१–०१३ प ५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका जबेगुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  ०८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।