अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इञ्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार चौधरीको २०६५ पुस ११ देखि २०८२ असार २९ गतेसम्मको आय–व्ययको अनुसन्धान गर्दा वैधानिक आयभन्दा रु दुई करोड २६ लाख १३ हजार १२३ बढी खर्च तथा लगानी गरेको देखिएको छ । आयोगले सो रकमको स्रोत पुष्टि हुन नसकेको तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको जनाएको छ ।

अनुसन्धानका क्रममा चौधरी तथा उहाँको एकाघर परिवारका सदस्यको सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक, जग्गा बिक्री, सापटीलगायत वैधानिक स्रोतबाट कुल रु दुई करोड ७२ लाख ५५ हजार ७६६ आम्दानी भएको देखिएको आयोगले जनाएको छ ।

सो अवधिमा जग्गा, घर, सवारीसाधन, घर निर्माण, बिमा, शिक्षा, शेयर लगानी तथा बैङ्क खातामा मौज्दातसमेत गरी कुल रु चार करोड ९८ लाख ६८ हजार ८८९ खर्च तथा लगानी भएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगले चौधरीविरुद्ध रु दुई करोड २६ लाख १३ हजार १२३ बराबरको बिगो कायम गरी सोही बराबर जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफतको मागदाबी गरेको छ । साथै वास्तविक सम्पत्ति विवरण नदिई झुट्टा विवरण पेस गरेको आरोपमा थप सजायको माग गरिएको छ ।

आयोगले चौधरीकी श्रीमती अर्पना कुमारीका नाममा रहेका गैरकानुनी स्रोतबाट आर्जित भनिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उहाँलाई पनि प्रतिवादी कायम गरिएको जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  ०९ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।