काठमाडौँ । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ उपत्यकाबाट ८, कोशी प्रदेशबाट १४, मधेस प्रदेशबाट ११, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट १८, लुम्बिनी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट पाँच जना पक्राउ परेका हुन् । उनीहरूबाट चाइनिज पेस्तोल दुई थान, पेस्तोल दुई थान, रिभल्भर एक थान, कटुवा पेस्तोल नौ थान, भरुवा बन्दुक ४१ थान, बन्दुक नौ थान र एयरगन तीन थान बरामद भएको छ ।
त्यसैगरी, चाइनिज पेस्तोलका चार राउन्ड, एसएलआरका २६३ राउन्ड, कटुवा पेस्तोलका १४ राउन्ड तथा विभिन्न प्रकारका बन्दुकमा प्रयोग हुने ७० राउन्ड गोलीसमेत बरामद भएको छ ।
गैरकानुनी हातहतियारको कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई अपराध नियन्त्रण तथा अपराधमुक्त समाज निर्माणका लागि निरन्तर सक्रिय नेपाल प्रहरीले हातहतियार लुकाएर राखिएको जानकारी भएमा प्रहरीलाई सूचना दिन तथा त्यस्ता हतियार स्वेच्छाले बुझाउन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ ।










प्रतिक्रिया