ग्यास नपाएर उपभोक्ता भौतारिँदा रेडिसन होटलमा भेटिए १८४ सिलिन्डर


काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभावले उपभोक्ता भौतारिरहँदा काठमाडौँको रेडिसन होटलमा ठूलो परिमाणमा लुकाएर राखेको ग्यास सिलिन्डर भेटिएको छ । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा होटलमा १८४ वटा ग्यास सिलिन्डर फेला पारेको हो ।

बजारमा पर्याप्त ग्यास उपलब्ध रहेको दाबी भइरहे पनि उपभोक्ताबाट ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा विभिन्न व्यावसायिक प्रतिष्ठानको निगरानी तीव्र बनाएको थियो । सोही क्रममा गरिएको निरीक्षणमा होटल रेडिसनमा ठूलो संख्यामा ग्यास सिलिन्डर मौज्दात रहेको फेला परेको हो ।

विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर तथा एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् । त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको छ ।

उद्योग मन्त्रालयले ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल तथा व्यवसायिक प्रतिष्ठानको ग्यास मौज्दातमाथि निगरानी बढाइएको जनाएको छ ।

मन्त्रालयका अनुसार अनधिकृत रूपमा ग्यास भण्डारण गरेको पुष्टि भए सम्बन्धित व्यवसायिक प्रतिष्ठानमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने छ । साथै, बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।