विदेश लैजान लागेको विदेशी मुद्रासहित विमानस्थलका दुई कर्मचारी पक्राउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रा सहित विमानस्थलका दुई जना कर्मचारी पक्राउ परेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको क्वालालम्पुर–काठमाडौँ उडानबाट क्वालालम्पुर जान लागेका दुई जनालाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको जाँच क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गंगबुका ४१ वर्षीय जननी बज्रयाचार्य र गोरखा नगरपालिका–८ की ३५ वर्षीया ममता पाण्डे रहेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियाली रिङ्गेट तथा ममता पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियाली रिङ्गेट फेला परेको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको छ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।