शवगृहमा राखिएका पाँच शव जसलाई एकभन्दा बढी परिवारले गरे दाबी


कास्की । रसुवा भोटेकोसी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मंगलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन् । ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी छ ।

“लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो,” बरालले भने, “सबै शवको डीएनए लिएका छौँ । परिवारको डीएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ ।”

धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको हो । शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर संकेत नम्बर दिई माटोले पुरिएको छ ।

शव पुरिसकेपछि गमला राखेर शवको संकेत नम्बरको ‘स्ट्यान्ड’ बनाइएको छ । रासस

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।