काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिन्छ । कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १० लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले २० हजार ८०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ५२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ ।
अब भने कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड ६३ लाख २० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
कति र कहिलेसम्म दिन पाइन्छ आवेदन ?
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने छ उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि असोज ५ गतेसम्म लम्बिने छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
हेर्नुस् कस्तो छ कम्पनी ?
बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको स्थापना २०६३ बमोजिम २०६३ कात्तिक २४ गते भएको हो । प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको यो कम्पनी २०७८ असार ३१ गते प्रा. लि. बाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनीले २०७९ असोज १४ गतेदेखि कम्पनी रजिष्ट्रार कार्यालयबाट कारोबार स्वीकृति प्राप्त गरी कारोबार सञ्चालन गर्दै आएको छ ।
आयोजनाको कुल अनुमानि लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ ।
साधारण सेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
इक्रा नेपालले कम्पनीलाई २०८२ फागुन १ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको हो । सो रेटिङ्ग २०८३ माघ २९ गतेसम्म बहाल रहने छ ।
सेयरबाट कमाउने पैसा कहाँ हुँदैछ लगानी ?
कम्पनीले साधारण सेयर जारी गरे पश्चात् सार्वजनिक निष्काशनबाट प्राप्त हुने रकम आयोजना निर्माण गर्न बैंकबाट लिइएको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ ।
सकारात्मक पक्षहरु
आयोजनाबाट प्राप्त हुने आयमा १० वर्ष (आ.व. २०८० देखि २०९० सालसम्म) पूर्ण रुपमा आयकर छुट तथा सो पश्चात् ५ वर्षको लागि ५० प्रतिशत आयकर छुट प्राप्त भएको छ ।
कम्पनीसँग दक्ष युवा जनशक्ति रहेकोले यो कम्पनी नेपालमा जलविद्युत आयोजनाको विकास र निर्माणको कार्यमा सफल रहेको छ ।
किन जारी भयो आइपीओ ?
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन कम्पनीले आईपीओ निष्काशन गरेको हो।
त्यस्तै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र प्रबन्धपत्रमा तोकिए बमोजिमको पूँजी संरचना कायम गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो। आईपीओ जारी गर्नुको मुख्य उद्देश्य प्राथमिक सार्वजनिक निष्काशनबाट प्राप्त भएको रकम बैंकबाट लिइएको ऋण भुक्तानीका लागि प्रयोग गर्नु रहेको छ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
गत आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा १० करोड ३४ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ७ करोड २६ लाख ५५ हजार रुपैयाँ थियो । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७० पैसा थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड २२ लाख ४१ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ८७ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।
कम्पनीले आगामी पाँच वर्षभित्र सम्भाव्य जलविद्युत क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार गर्दै आर्थिक वर्ष २०८३/८४ सम्ममा एक सफल जलविद्युत कम्पनीको रुपमा स्थापित हुने लक्ष्य राखेको छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने सम्झौता भइसकेको र देशमा विद्युतको माग उच्च हुनुका साथै भारत तथा बङ्गलादेशमा समेत विद्युत निर्यातको प्रचुर सम्भावना रहेकाले कम्पनीको बजार जोखिम र प्रतिस्पर्धा अत्यन्तै न्यून रहेको छ ।





प्रतिक्रिया