चल्लाको अभाव, ह्याचरी उद्योगहरू बन्द, अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा


काठमाडौँ । नेपाली बजारमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्य पुनः बढाएपछि अण्डाको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको प्रतिक्रेट मूल्य यसअघि कायम रहेको दरभन्दा १५ रुपैयाँले बढेको हो । नेपाल लेयर्स कुखुरापालक संघले गत बिहीबार गरेको निर्णयअनुसार शुक्रबारदेखि लागू हुने गरी एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो अण्डाको ५९० रुपैयाँ र मिडियम अण्डाको ५५० रुपैयाँ निर्धारण गरेको छ । सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँमा यथावत् राखिएको छ ।

यसअघि भदौ ४ गते एक्सएल अण्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलोको ५७५ रुपैयाँ र मिडियमको ५३५ रुपैयाँ थियो । केही दिनमै पुनः मूल्य बढेपछि अण्डाको मूल्य उच्च विन्दुमा पुगेको हो । बर्डफ्लूका कारण केही मात्रामा घटेको अण्डाको मूल्य पछिल्लो समय निरन्तर उकालो लागिरहेको छ ।

साउन यता नै अण्डाको मूल्यमा पटक पटक मूल्य वृद्धि भएको छ । साउनको पहिलो हप्ता ५०० प्रतिक्रेट पाइने अण्डा अहिले ६०५ पुगेको छ ।

अण्डाको मूल्य बढ्नुको प्रमुख कारण बर्डफ्ल्यू र उत्पादनमा आएको कमी रहेको व्यवसायीहरूले बताउँदै आएका छन् । पछिल्लो समय लेयर्स कुखुराको संख्या घट्नु, विभिन्न रोग तथा बर्डफ्लुका कारण कुखुरा नष्ट गर्नुपर्नु कारण बजारमा अण्डाको आपूर्ति प्रभावित भएको व्यवसायीहरूको भनाइ छ ।

अण्डाको मूल्य वृद्धिले किसानमा केही राहत मिलेको छ, तर उपभोक्ताका लागि भने आर्थिक भार परेको छ । किसानले उचित मूल्य पाउनु आवश्यक भए पनि उपभोक्तामाथि अत्याधिक भार नपर्ने गरी उत्पादनदेखि बजारसम्मको आपूर्ति प्रणाली व्यवस्थित बनाउनुपर्ने आवश्यक देखिएको छ । चल्लाको अभाव, ह्याचरी उद्योगहरू बन्द हुनु र बर्डफ्लुका कारण किसानहरूले नयाँ चल्ला राख्न नसक्दा अण्डा उत्पादन प्रभावित बनेको हो ।

बर्डफ्लूका कारण सयौँ फार्महरु बन्द भएका छन् । कुनै एउटा फार्ममा बर्डफ्लू पुष्टि भएपछि त्यस फार्ममा केही समय चल्ला राख्न मिल्दैन जस कारण फार्मको संख्या नै घटेको छ ।

बर्डफ्लूका कारण लाखौँको संख्यामा कुखुरा नष्ट हुँदा बजारमा उत्पादन घट्दै गएको त्यस कारण अण्डाको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष राजेन्द्र लामिछानेले बताए ।

‘अण्डा उत्पादनमा सबैभन्दा ठूलो खर्च कुखुराको दानामा हुने गर्छ ।’ उनले भने, ‘दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्य, औषधि, श्रम, विद्युत्, ढुवानी तथा अन्य सञ्चालन खर्च बढ्दा किसानको उत्पादन लागत पनि बढेको छ ।’

उनका अनुसार, दुई वर्षअघिसम्म देशमा ३५४ वटा ह्याचरी उद्योगहरू सञ्चालनमा रहेका थिए । तर, विभिन्न कारणले गर्दा अहिले ती घटेर ११० वटामा मात्र सीमित भएका छन् । यसले गर्दा आगामी दिनमा पनि कुखुरा पालन व्यवसाय र अण्डाको आपूर्ति सहज हुन थप समय लाग्ने देखिएको उनले बताए ।

लामो समयसम्म कुखुरापालनमा अपेक्षित नाफा नहुँदा धेरै किसान व्यवसायबाट बाहिरिँदा चल्लाको बजार संकुचित भएको छ । चल्लाको उत्पादन संकुचित हुँदा त्यसको प्रत्यक्ष प्रभाव अण्डा उत्पादनमा परेको उनको भनाई छ ।

पोल्ट्री व्यवसायमा आउने उतारचढाव नियन्त्रण गर्न दीर्घकालीन नीति आवश्यक रहेको उनी बताउँछन् । उत्पादन घटेका बेला मूल्य आकासिने र उत्पादन बढेका बेला किसानले लागतसमेत नपाउने अवस्था अन्त्य गर्न बजार व्यवस्थापन, उत्पादन योजना, रोग नियन्त्रण, दाना तथा कच्चा पदार्थको सहज आपूर्ति र किसानलाई स्थिर बजार सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ ।

पहिले दैनिक २८ हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २१÷२२ हजार कार्टुनमा सीमित भएको छ । किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा अण्डा पाउने वातावरण बनाउन सरकार, उत्पादक, व्यवसायी र उपभोक्ताबीच समन्वय आवश्यक देखिएको छ । अन्यथा अण्डाको मूल्यमा देखिएको अहिलेको उछालले खाद्य बजारका अन्य क्षेत्रमा समेत थप मूल्य दबाब सिर्जना गर्न सक्ने जोखिम छ ।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।