काठमाडौँ । भोटेकोशी बाढी प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ । बाढीबाट क्षति भएसँगै नाइमाले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणाबमोजिम मंगलबार अध्यक्ष ऋतुसिंह वैद्यको नेतृत्वमा नाइमाको बोर्ड समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, बीवाईडीका लागि साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारीलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् ।
साथै, उनले विशेषगरी नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा नाइमा सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् ।





प्रतिक्रिया