बैंकक । लगातार परेको भारी वर्षापछि थाइल्यान्डको राजधानी बैंककमा व्यापक बाढी आएको छ । बाढीका कारण हजारौं मानिस आश्रयस्थलमा बस्न बाध्य भएका छन् भने घर तथा सडकहरू जलमग्न भएका छन् ।
बैंकक महानगर प्रशासनका अनुसार करिब ४ हजार ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजारभन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका छन् । बाढीपछि राजधानीका विभिन्न क्षेत्रमा विपद् घोषणा गरिएको छ ।
मौसम विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म बैंककका केही क्षेत्रमा ३३० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । सेप्टेम्बर थाइल्यान्डमा वर्षायामको उच्च अवधि भए पनि स्थानीय बासिन्दाले यसपटकको बाढी विगतका वर्षभन्दा गम्भीर भएको बताएका छन् ।
बैंककको बाहिरी क्षेत्रमा प्रेमप्रचाकोर्न नहरनजिक बस्ने ४४ वर्षीय कार्यालय कर्मचारी कोसिन निलसेटका अनुसार उनको घर करिब ३० घण्टासम्म पानीमा डुबेको थियो । उनले यसपटक पानीको सतह सन् २०११ को विनाशकारी बाढीभन्दा पनि माथि पुगेको बताए ।
सन् २०११ मा थाइल्यान्डमा आएको व्यापक बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौं घरमा क्षति पुगेको थियो । बैंककका विभिन्न क्षेत्रमा मानिसहरू घुँडासम्म आउने फोहोर पानीमा हिँडिरहेका देखिएका छन् । केहीले प्लास्टिकका टबमा आफ्ना सामान राखेर बाढीको पानीबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।
आश्रयस्थलमा कठिन अवस्था
बैंककका नहरहरूमा पानीको सतह अझै उच्च रहेको र पानी निकास तीव्र बनाउन अधिकारीहरूले काम गरिरहेको महानगर प्रशासनले जनाएको छ । आइतबार पनि थप वर्षाको सम्भावना रहे पनि सोमबारदेखि वर्षा क्रमशः कम हुने अनुमान गरिएको छ ।
बैंककका गभर्नर चाडचार्ट सिटिपुन्टले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरे। उनले शनिबार राति खेहा रोङ्क्लाओ क्षेत्रको अस्थायी आश्रयस्थलको निरीक्षण गरेका थिए, जहाँ करिब एक हजार जना विस्थापित भएको बताइएको छ ।
आश्रयस्थलमा केही मानिस खाट र बेन्चमा आफ्ना कुकुरसहित बसेका थिए भने अन्यले कक्षाकोठाको भुइँमा कम्बल ओछ्याएर रात बिताएका थिए । बाढीका कारण बैंककका सयौं विद्यालय सोमबार बन्द हुने महानगर प्रशासनले जनाएको छ ।
बाढीका कारण केही पसलमा अत्यावश्यक सामग्रीको अभावसमेत देखिएको छ । मानिसहरूले आवश्यक सामग्री किन्न हतार गरेपछि केही सुविधा पसलका ¥याकहरू खाली भएका थिए । प्रधानमन्त्री कार्यालयले भने सर्वसाधारणलाई आत्तिएर अत्यधिक सामान नकिन्न आग्रह गर्दै कृत्रिम रूपमा मूल्य बढाउनु कानुनविपरीत हुने चेतावनी दिएको छ ।
प्रेमप्रचाकोर्न नहरनजिकै बस्ने ५६ वर्षीया थिदारत सिल्सुवानको घर पनि आंशिक रूपमा डुबेको छ । उनले दुई दिनदेखि टेबलमाथि सुतिरहेको बताए। आश्रयस्थल जानुभन्दा आफ्ना सामान जोगाउने र घर सफा गर्ने प्रयासमा रहेको उनले बताए ।
उनले ठूला विद्युतीय उपकरणहरू-फ्रिज र लुगा धुने मेसिन-बचाउन नसकेको र ती बिग्रिएको हुन सक्ने बताए ।
वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापक्रम वृद्धि र जीवाश्म इन्धनबाट हुने उत्सर्जनका कारण अत्यधिक मौसमजन्य घटनाको तीव्रता र आवृत्ति बढ्न सक्ने चेतावनी दिँदै आएका छन् ।









