बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित क्षेत्रहरुलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं १ र २ लाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
२०८३ असोज ८ गतेदेखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङ जिल्लाका थप दुई वटा स्थानीय तह गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई पनि तीन महिना अवधिका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको छ ।
उक्त स्थानीय तहका क्षतिग्रष्त निजी आवासका प्रभावित परिवारहरूले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा त्यस्ता परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि तत्काल राहत स्वरूप बसोबास र जिविकोपार्जनका लागि ४ जनासम्मको सदस्य भएका परिवारलाई प्रति परिवार प्रति महिना १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएको परिवारको लागि प्रति सदस्य थप २ हजार रुपैयाँ प्रति महिनाका दरले राहत उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।








