चितवन र रुपन्देहीका भूमिहीन दलित, सुकुम्बासी र झापाका अव्यवस्थित बसोबासीले पाए लालपुर्जा


काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका ७ का ३२ भूमिहीन सुकुम्बासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन् । त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं ८ र ९ का १४ भूमिहीन दलित तथा २ भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवार कानुनी रूपमा जग्गाधनी बनेका हुन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ ।

भूमिमन्त्री प्रतिभा रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया अब तीव्र गतिमा अघि बढ्ने बताएकी छन् । यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेको उनको भनाई छ ।

“कानुनी अड्चन नरहेकाले अब भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया तीव्र गतिमा अघि बढ्छ । यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेकी छु,” मन्त्री रावलले भनिन् ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार  १५ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।