काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताएका छन् ।
बडादसैँका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले बडाका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले बडादसैँ देशभित्रका विभिन्न स्थानहरूबाट मात्र नभइ देशबाहिरबाट समेत आफ्नो घरआँगनमा फर्कने, आफ्ना परिवार र आत्मीयजनहरूसँग भलाकुसारी गर्ने, खानपान गर्ने र रमाइलो गर्ने अवसरका रूपमा युगौँदेखि परिचित रहेको समेत बताएका छन् । “बडादसैँको माहोलको आकाश नै अलग हुन्छ, धर्तीको सुगन्ध छुट्टै हुन्छ अनि वातावरण त्यसै–त्यसै उल्लासमय र उमङ्गले भरिपूर्ण हुन्छ”, उनले भनेका छन् ।
प्रधानमन्त्री शाहले यस पावन उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन् ।
“तपाईं–हाम्रो घरआँगनमा नेपालीहरूको महान् चाड बडादसैँले प्रवेश गरिसकेको छ । आज सप्तमी तिथि अर्थात् फूलपाती, दशमी तिथि अर्थात् विजया दशमीको दिन टीका ग्रहण गर्ने मुख्य दिन रहे तापनि नवरात्रको सुरुवात विधिपूर्वक घटस्थापना गरेर यसअघि नै भइसकेको छ”, उनले भनेका छन् ।
नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको र धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको उनको भनाइ छ । यस अवसरमा सबैभन्दा लामो सार्वजनिक बिदा छुट्याइने भएकाले पनि दशैं निस्फिक्री रमाउने चाडका रूपमा रहँदै आएको उनले उल्लेख गरेका छन् ।








