भोजपुर । संघका लागि एक र प्रदेशका लागि २ वटा निर्वाचन क्षेत्र कायम भएको भोजपुरमा मतदाता संख्या भने घटेको छ । अघिल्लो निर्वाचनको तुलनामा अहिले १ हजार ६ सय बढी मतदाताको संख्या घटेको हो ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीका अनुसार अघिल्लो निर्वाचनमा कायम मतदाता संख्या अहिले भने १ हजार ६ सय १४ घटेको छ ।
प्रमुख सुवेदीले अघिल्लो निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या १ लाख २५ हजार ७ सय ६६ रहेकोमा अहिले अध्यावधिक भएपछि सो संख्या १ लाख २४ हजार १ सय ५२ जना कायम भएको बताए ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरले गत भाद्र १५ गतेसम्म १८ बर्ष पुरा भएका ब्यक्तिहरुको मतदाता नामावली अध्यावधिक गरे अनुसार संख्या घटेको देखिएको छ ।
निर्वाचन कार्यालयका प्रमुख सुवेदीका अनुसार मृत्यृु भएर नामावली हटाइएका १ हजार ४ सय ४९ जना, दोहोरो नाम हटाइएका ६ सय ६ जना गरी एक हजार ६ सय १४ संख्या कम भएको छ । यस्तै ठाउँसारी भएर अन्यत्र गएकाहरुको भने यकिन बिवरण छैन ।
जिल्लाका २ नगरपालिकासहित ७ वटा गाउँपालिका गरी कुल नौवटा स्थानीय तहका ८१ वटा वडा रहेका छन् । अघिल्लो निर्वाचनसम्म जिल्लामा ८७ वटा मतदान केन्द्र, १ सय ५९ र दुई वटा अस्थायी मतदान केन्द्र निर्धारण छ ।
स्थानीय तह निर्वाचनका लागि तयारी भई रहदाँ निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्ला जिल्लामा पनि मतदाता नामावली अध्यावधिकको काम गरिएको हो ।








