बडादसैँको टीका आज पनि लगाइँदै


काठमाडौँ । विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदैछ ।

आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको टीका थापिरहेका छन् ।

हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँ बाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन् ।

काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरुकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरु बाहिरबाट पनि काठमाडौँ आइरहेका छन् ।

 बडादसैँको टीकाको मुख्य दिन बुधबार भएपनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।

त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौँमा चहलपहल केही बढेको देखिएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८३, बिहिबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।