दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी


दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गर्नुभएको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ ।

सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ । त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब वन खर्च गरिनेछ ।

एआई प्रविधिको विस्तारसँगै मेमोरी चिपको माग बढिरहेका बेला दक्षिण कोरियाले यो क्षेत्रमा लगानी बढाउन लागेको हो । सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स विश्वका प्रमुख मेमोरी चिप उत्पादक कम्पनी हुन् ।

सन् २०२७ को कुल बजेट ८२१ खर्ब वन प्रस्ताव गरिएको छ र यो चालु वर्षभन्दा १२.८ प्रतिशत बढी हो । यो देशकै ठूलो बजेट प्रस्ताव हो ।

सरकारले रक्षा बजेट पनि ८.२ प्रतिशत बढाएर ७३ खर्ब ३० अर्ब वन पु¥याउने प्रस्ताव गरेको छ । आणविक शक्तिबाट चल्ने पनडुब्बी, केएफ–२१ लडाकू विमान तथा एआई, रोबोट र ड्रोनमा आधारित सैन्य प्रणाली विकासलाई प्राथमिकता दिइने राष्ट्रपति लीले बताए । बजेट कार्यान्वयनका लागि संसद्को स्वीकृति आवश्यक पर्नेछ ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।