फोन ठगी नियन्त्रण गर्न रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य गरिँदै


काठमाडौँ । फोनमार्फत हुने ठगी नियन्त्रण गर्ने प्रयासस्वरूप रुसका प्रमुख बैंकबाट आउने फोन कलमा अब सम्बन्धित संस्थाको नाम मोबाइल फोनको स्क्रिनमा देखिने भएको छ ।

रुसको डिजिटल विकास, सञ्चार तथा आमसञ्चार मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार, देशका चार ठूला दूरसञ्चार सेवा प्रदायक र प्रमुख बैंकहरू कल गर्ने संस्थाको पहिचान देखाउने प्रणाली लागू गर्न सहमत भएका छन् । यससम्बन्धी आवश्यक सम्झौतामा उनीहरूले हस्ताक्षरसमेत गरिसकेका छन् ।

नयाँ व्यवस्थाअनुसार, कुनै बैंकबाट ग्राहकलाई फोन आउँदा मोबाइलको स्क्रिनमा सम्बन्धित बैंकको नाम देखिनेछ । यसले फोन गर्ने व्यक्ति वा संस्थाको पहिचान गर्न सहज बनाउनुका साथै बैंकका कर्मचारी भएको बहाना बनाएर ठगी गर्ने प्रयासलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयले यस सम्झौतालाई नागरिकलाई फोनमार्फत हुने ठगीबाट जोगाउन र विभिन्न संस्थाबाट आउने फोन कलप्रति सर्वसाधारणको विश्वास बढाउन चालिएको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ ।

फोन ठगी नियन्त्रण गर्ने व्यापक अभियानअन्तर्गत रुसले यसअघि नै कम्पनी तथा व्यक्तिगत उद्यमीबाट गरिने फोन कलमा अनिवार्य रूपमा कल गर्ने संस्थाको पहिचान खुलाउनुपर्ने व्यवस्था लागू गरिसकेको छ । उक्त व्यवस्था सन् २०२५ सेप्टेम्बर १ देखि कार्यान्वयनमा आएको हो ।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार  ०७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।