निर्जीवन बीमकहरुको व्यापार २२.८२ प्रतिशतले बढ्यो


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म निर्जीवन बीमकहरुले साढे १५ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमकले ८ लाख ३६ हजार ७४ वटा बीमालेख जारी गरेर १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार २२.८२ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमालेख जारी गरेर १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी व्यापार भित्र्याएको छ । समीक्षा अवधिसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार २२.५० प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

शिखर इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ । चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार २९.५४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष असोजसम्म कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । चालु वर्षको असोजसम्म यो कम्पनीले १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ३४.५४ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष असोजसम्म कम्पनीले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यसैगरी, चालु आर्थिक वर्षको असोजसम्म एनएलजी इन्स्योरेन्सले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ व्यापार भित्र्याएको छ । जुन अघिल्लो वर्षको तुलनामा एनएलजी इन्स्योरेन्सको व्यापार ४५.४६ प्रतिशत बढी हो ।

यस्तै, चालु आर्थिक वर्षमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८२ करोड ४१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ७१ करोड ८३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी सबै कम्पनीको व्यापार बढेको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०८३, आइतबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।