चौबिसै घण्टा सञ्चालनमा आएको ठमेलको विकृति अन्त्यका लागि जिल्ला प्रशासन सक्रिय


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलको अनुगमनलाई तीव्रता दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालको नेतृत्वमा गएराती नेपाल प्रहरी, पर्यटक प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, राष्ट्रिय अनुसन्धान, ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधीले ठमेल क्षेत्रको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा अव्यवस्थित सडक पार्किङ, माग्नेको समस्या, ट्राफिक जाम, रिक्साको समस्या, पर्यटकलाई हुने ठगीलगायतको बारेमा अनुगमन गरिएको थियो ।

ठमेल पर्यटन विकास परिषद्का तत्कालिन अध्यक्ष भविश्वर शर्मा नेतृत्वले तयार गरी जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएको ठमेललाई २४ सै घण्टा सञ्चालन सम्बन्धी आचारसंहिता एवम् सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० लाई कार्यान्वयन गर्नका लागि रातीको समयमा समेत सुरक्षा टोली खटाइने भएको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी भुसालले सुरक्षित ठमेल निर्माणका लागि एकीकृत सुरक्षा योजना बनाएर लागू गरिने बताए । उनले ठमेलभित्रको विकृति विसंगतीको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

ठमेल पर्यटन विकास परिषद्ले ठमेलको शान्ति सुरक्षालाई भरपर्दो बनाउनका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने नियम बनाएको छ । ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले ठमेललाई नेपालको पर्यटकको हव बनाउनका लागि जिल्ला सुरक्षा समिति काठमाडौँबाट स्वीकृत भएको आचारसंहितालाई कडाईका साथ पालना गरिने उल्लेख गरे ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी भुसाल, नगर प्रहरी बलका प्रहरी नायव उपरीक्षक प्रकाश पण्डित, परिषद्का अध्यक्ष राजुमान डंगोल, कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठ, प्रहरी वृत्त लैनचौर तथा दरबारमार्ग, पर्यटक प्रहरी ठमेलका प्रतिनिधीको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।