नेपाल पुनर्बीमा कम्पनी मार्फत ९८ करोड बाहिरियो


नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको चैतसम्ममा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले ९८ करोड ७२ लाख रुपैयाँ पुर्नबीमा कमिशन वापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ ।

कम्पनीले निर्जीवन व्यवसायबाट ३ अर्ब २५ करोड १७ लाख रुपैंया र जीवन बीमा व्यवसायबाट २९ करोड ७४ लाख ५५ हजार रुपैंया गरी ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ७४ करोड २१ लाख रुपैंया खुद बीमा शुल्क संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीले ८९ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले १६ करोड ३९ लाख ९२ हजार रुपैयाँले खुद नाफा बढाएको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ७२ करोड ७३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ८० करोड ४ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । सो अवधिमा कम्पनीले निर्जीवन बीमा दावी वापत ५२ करोड ९४ लाख ८५ हजार र जीवन बीमा दावी वापत ५ करोड ८० लाख २८ हजार रुपैयाँ गरी ५८ करोड ७५ लाख १३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

हाल ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित कोषमा २ अर्ब ४८ करोड ७ लाख रुपैयाँ छ । कम्पनीको बीमा कोषमा एक अर्ब ११ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले पुनर्बीमा कमिशन शुल्क वापत ४ करोड ९० लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ भने ९८ करोड ७२ लाख रुपैयाँ पुर्नबीमा कमिशन वापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ । कम्पनीले निर्जीवन बीमा कम्पनी वापत ९६ करोड ९० लाख र जीवन बीमा कम्पनी अन्र्तगत १ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको कमिशन आम्दानीका आधारमा कमिशन खर्चको आकार २०.१२ गूणाले बढी हो ।

कम्पनीले ९२ करोड ६९ लाख ३८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जसमा निर्जीवन व्यवसायका लागि ८४ करोड ५६ लाख ९९ हजार र जीवन व्यवसायमा ८ करोड १२ लाख ३९ हजार रुपैयाँको दाबी भुक्तानी भएको छ ।