युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद स्वीकृत


नेपाल धितोपत्र बोर्डले युनाइटेड इन्स्योरेन्सलाइ २४० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमती दिएको छ । बोर्ड आइतबार कम्पनीलाइ को चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद निष्कासन अनुमती दिएको हो ।

इन्स्योरेन्सले बढीमा दुई महिना भित्रमा कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउने सेयर निष्कासन तथा बिक्री खुला गर्नेछ । कम्पनीले १० बराबर २४ कित्ताको अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले भारी मात्रामा हकप्रद बिक्री गरेर कायम गर्न लागेको हो । हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्स कम्पनीको हकप्रद पछि एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

कम्पनीले हकप्रदलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतमा भन्दा कमजोर रहेको जनाउँछ ।
उता कम्पनीको कुल र खुद बीमाशुल्क आर्जन घट्नु तथा करिब ८० प्रतिशत बीमालेखहरु गाडीमा मात्र केन्द्रीत रहनु कम्पनीको कजोर पक्ष छ । नयाँ कम्पनी थपिएसँगै बढेको प्रतिस्पर्धा, र व्यवस्थापनमा छिटो छिटो भइरहने परिवर्तनले कम्पनीको समग्र वित्तीय प्रगतिमा असर गरेको र हाल रहेका २० निर्जीबन बीमा कम्पनीमध्ये १७ औं स्थानमा रहनुले पनि कम्पनीमा चुनौति पनि देखिन्छ । युनाइटेड इन्स्योरेन्सको शेयर असार ८ गते आइतबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य ९०० रुपैयाँमा कारोबार भएको छ ।