एनएमबि र ओमलाइ राष्ट्र बैंकको सैद्धान्तीक अनुमती


नेपाल राष्ट्र बैंकले एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान सैद्धान्तिक अनुमती दिएको छ । आजभन्दा एक कमहिना अघि एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए ।

प्राइम कमर्शियल बैंकसँग मर्जरको सम्झौता भाँडिएपछि ओम डेभलपमेन्ट बैंकले गत जेठ २ गते एनएमबी बैंकसँग मर्जरमा जाने समझदारी गरेको हो ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ । पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको बिकास बैंक ओम डेभलपमेन्टको चुक्ता पूँजी पनि २ अर्ब ५१ करोड छ । मर्जरपछि एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी हुनेछन् भने ओमका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन् ।

मर्जरको सम्झौता गरेका एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको हाल दोस्रो बजारमा शेयर कारोबार रोक्का गरिएको छ । मर्जर सम्बन्धि सम्पूर्ण कार्य सकिएपछि मात्र दुबै बैंकको शेयर कारोबार खुल्नेछ ।

प्राइम कमर्शियल बैंकसँग मर्जरमा जाने सहमति गरेको ओमले स्वाप रेसियो तथा कर्मचारी समायोजनका कुरा नमिलेपछि मर्जरको सम्झौता तोड्ने सम्झौता गरेको थियो ।