दुई दशक पुरानो श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द, शेयर मूल्य भने बढ्यो

0
Shares

श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द भएको छ । दुई अर्ब बढी घाटामा पुगेपछि दुई दशक पुरानो मिल्स २०७७ साउन ११ गतेबाट बन्द गर्ने निर्णय भएको हो।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत यो उद्योगले बन्द भएको जानकारी गराएको छ।

मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको भए पनि पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो । मिलले २०७१ सालदेखि किसानको झन्डै ३७ करोड तिर्न बाँकी छ । 

स्थापना भएको एक दशकसम्म नाफामा रहेको कम्पनी पछिलो समय राम्रो ब्यवस्थापनको अभावमा घाटामा सञ्चालन भैरहेकोे थियो । कम्पनी आर्थिक वर्ष ०७५/७६ सम्ममा कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ पुगेको श्रीराम सुगर मिल्सले जनाएको छ । आर्थिक ०७६/७७ मा मिलले १३ दिन मात्रै उखु क्रसिङ गरेको थियो।

उँखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिलको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको मिलले जनाएको छ। उद्योग बन्द भएपछि त्यहाँ कार्यरत ३ सय २५ जना कर्मचारी पनि बेरोजगार भएका छन् । मिलले यस वर्ष कार्यरत कर्मचारीको चार महिनादेखिको तलब तथा सञ्चयकोषको रकमसमेत दिन नसकेको समेत उक्त सूचनामा उल्लेख छ। 

कम्पनीले उद्योग बन्द गर्ने निर्णय गरेपनि केहिदिन यता यो कम्पनीको दोस्रो बजारमा शेयर मूल्य भने बढेको छ । सोमबार पनि कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले बढेर ३३८ रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।