४ प्रतिशतभन्दा तल झर्यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर


काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि देशका निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

कात्तिकको तुलनामा मंसिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४ प्रतिशतविन्दुभन्दा तल अर्थात् ३.९०६ प्रतिशतमा झरेको छ ।

कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.०१३ प्रतिशतविन्दु रहेकोमा मंसिरका लागि ०.१०७ प्रतिशतविन्दु घटेर ३.९०६ प्रतिशतविन्दु कायम भएको हो ।

त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतविन्दुबाट ०.०१२५ प्रतिशतविन्दु घटेर २.९९०५ प्रतिशतविन्दुमा झरेको छ ।

मंसिर महिनामा ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

सानिमा बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर दिएका छन् । जुन अन्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । सानिमा बैंकले कात्तिककै व्याजदरलाई निरन्तरता दिएको हो ।

ब्याजदर घटाउने मध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा बढी घटाएको छ । उक्त वैकले व्यक्तिगततर्फ सबैभन्दा धेरै १ प्रतिशत विन्दुले कटौती गर्दै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ । त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेको छ ।

एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.२५ प्रतिशत र ३.२५ प्रतिशत तोकेको छ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशतविन्दु घटाएर ३.६१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दु घटाएर ३.६५ प्रतिशत कायम गरेका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०८३, सोमबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।