मंगलबारको बजारमा लघुवित्त कम्पनीका शेयरधनी मालामाल

0
Shares

नेप्से परिसूचक स्थिर रहेपनि अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य बढ्दा मंगलबारको शेयर बजारबाट लघुवित्त कम्पनीका शेयरधनीहरुले नाफा कमाएका छन्। उच्च रुपले शेयरमूल्य बढ्ने १० कम्पनीमा ८ वटा लघुवित्त समेटिएका छन्।

गणपति माइक्रोफाइनमान्सको शेयमूल्यमा मंगलबार पनि पोजेटिभ सर्किट लागेको छ। लघुवित्तको शेयरमा तेस्रो कारोबार दिन सर्किट लागेर प्रतिकित्ता शेयरमूल्य ३९ रुपैयाँले बढेर ४३२ रुपैयाँ पुगेको छ । यस्तै जनउत्थान सामुदायिक लघुवित्त ७।५६ प्रतिशत, लक्ष्मी लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको छ । मिथिला लघुवित्त, नयाँ नेपाल लघुवित्त र सामुदायिक लघुवित्तको शेयरमूल्यमा पनि ३ प्रतिशतभन्दा धेरैले सुधार आएको छ।

साताको तेस्रो दिन मंगलबार नेप्से ०.९६ अंकको झिनो सुधार आएर १२६१.०७ बिन्दुमा बन्द भएको छ । सोमबारको तुलनामा शेयर कारोबार रकम भने १२ करोड रुपैयाँले घटेर ३६ करोड ४७ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ।

मंगलबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सबैभन्दा धेरै २ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । प्रभु बैंकको २ करोड २८ करोड, शिबम् सिमेन्टस, नेपाल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर, कैलाश विकास बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंकको पनि एक करोड रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भयो । मंगलबार उच्च कारोबार गर्ने १० कम्पनीमध्य ६ वटा वाणिज्य बैंक रहेका छन्।

मंगलबार मल्टिपर्पस फाइनान्सको शेयरमूल्यमा भने नेगेभिट सर्किट लागेको छ । ८६५ प्रतिशत हकप्रद बिक्री गर्न लागेको फाइनान्सले बुधबार बुकक्लोज गर्दैछ । कारोबारीले उचालेर माथि पुर्याएको मूल्यमा शेयर फ्याँदा फाइनान्सको शेयरमूल्य दोस्रो कारोबार दिनमा पनि करिब १० प्रतिशतले घटेको छ । त्यस्तै राधी विद्युत कम्पनीको साढे ५ प्रतिशत, गुँरास लघुवित्त र अरुण काबेली हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले तल झरेको छ ।

मंगलबार कारोबारमा आएका १२ उपसमुहको सूचकमध्ये ६ वटा उपसमुहको सूचक सकारात्मक देखिएका छन् भने ६ वटा उपसमूह नकारात्मक देखिएका छ। यस दिन होटल समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले तल झर्दा उत्पादनमूलक उपसमूहको सूचक ०.७४ अंकले बढेको छ ।