कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक

0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरसको महामारीबीच पनि नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा सही दिशामा रहनु सुखद पक्ष भएको बताएका छन । मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आव २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धि भएको बताए ।

संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ रहेको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको जानकारी दिए । ठूला अर्थतन्त्र भएका अमेरिका, युरोजोन तथा छिमेकी मुलुक ऋणात्मक अर्थतन्त्रको सिकार भएका बेलामा नेपालमा आर्थिक वृद्धि हुनु चानहुने नभएको उनको भनाइ छ ।

“कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवस्थामा संसारका १८ मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन्”, मन्त्रालयको तेस्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा मन्त्री पुनले भने, “यस्तो अवस्थामा पनि ३.२ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो । यो सरकारको सफलता हो ।”

मन्त्री पुनले कोभिड–१९ महामारीकै बीचमा पनि आफ्नो मन्त्रालयअन्तर्गत ठूला जलविद्युत् र सिँचाइ आयोजनाका काम नरोकिएको भन्दै सन्तोष व्यक्त गरे । उनले लकडाउन अवधिभर ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ठूला जलविद्युत् आयोजना र भेरी–बबई डाइभर्सन तथा सिक्टा सिँचाइ आयोजनाका काम निरन्तर भएको उल्लेख गरे । मन्त्रिपरिषद्ले आफ्नै प्रस्तावमा जलविद्युत्सहित ठूला पूर्वाधार आयोजनाका कामलाई अत्यावश्यकमा राखेर निर्माण कार्य अगाडि बढाएको स्मरण मन्त्री पुनले गरे । सोही कारण आव ०७६/७७ मा मन्त्रालयको वित्तीय प्रगति ७२.९१ तथा भौतिक प्रगति ७४.३२ प्रतिशत भएको उहाँले बताए ।

मन्त्री पुनले राष्ट्रिय सङ्कटको अवस्थामा समेत धेरै उत्कृष्ट काम गर्न मन्त्रालय सक्षम भएको उल्लेख गरे । उनले प्रधानमन्त्री कार्यालयको मनिटरिङमा पनि आफ्नो मन्त्रालय काम धेरै गर्ने ठूला पूर्वाधार मन्त्रालयमध्ये एक/दुई नम्बरमै रहेको उल्लेख गरे । मन्त्री पुनले असामान्य अवस्थामा देखाएको स्पिरिटलाई सामान्य अवस्थामा कायम राख्दै चालू आवमा थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई निर्देशन दिए ।

उनले प्रदेश–२, वाग्मती, गण्डकी र प्रदेश–५ यसै आवमा र कर्णाली र सुदूरपश्चिम आगामी आवभित्र र प्रदेश–१ मा आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने जानकारी दिए । मन्त्री पुनले कुनै पनि बहानामा विकास आयोजनाका काम रोक्न नहुन भन्दै व्यावहारिक, कानूनी, नीतिगत वा जनस्तरबाट आउने समस्याका कारण परियोजनामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिए । राजनीतिक नेतृत्वलाई समयमै समस्याबारे जानकारी नहुँदा ढिलाइ हुनेमात्र नभई आयोजनाको लागतसमेत बढ्ने मन्त्री पुनको भनाइ थियो ।

मन्त्री पुनले सरकारले विसं २०८५ ऊर्जा दशक घोषणा गरिएको स्मरण गर्दै सो अवधिमा जसरी पनि नेपालको कूल जलविद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट बनाउनै पर्ने दृढता व्यक्त गरे । लगानीकर्ता आकर्षित गर्ने, उनीहरुलाई सहुलियत दिनेदेखि नीतिगत सुधारका काम गर्नुपर्ने भए अहिल्यै भन्न र आवश्यक तयारी गर्न मन्त्री पुनले आग्रह गरे ।
–––

प्रकाशित मिति: १९ साउन २०७७, सोमबार  ०७ : ०७ बजे