लकडाउनमा उद्योग/व्यवसायको बिजुली खपत ८४ प्रतिशतले घट्यो

0
Shares

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा उद्योग/व्यवसायको बिजुली खपत पनि उच्च दरमा घटेको छ । उत्पादन तथा बिक्री वितरणको संयन्त्र बिग्रँदा उद्योग व्यवसायको बिजुली खपत घटेको हो ।

नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणअनुसार बन्दाबन्दी अवधिमा उद्योग/व्यवसायहरुको औसत बिजुली खपत उल्लेख्य मात्रामा घटेको देखिएको हो ।

सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ४६.६ प्रतिशतले पहिलेको भन्दा ७५ प्रतिशतसम्म कम, १९.२ प्रतिशतले पहिलेको भन्दा ५० प्रतिशतसम्म कम र १८.१ प्रतिशतले पहिलेको भन्दा २५ प्रतिशतसम्म कम बिजुली खपत गरेको जनाएका छन् । सहभागीमध्ये १३.५ प्रतिशत उद्योग/व्यवसायहरुको बिजुली खपत पहिलेको जस्तै रहेको र २.६ प्रतिशतको बिजुली खपत बढेको पाइएको छ ।

उद्योग व्यवसायको आकार अनुसार हेर्दा पहिलेको भन्दा ७५ प्रतिशतसम्म बिजुली खपतमा गिरावट आएको जनाउनेमा अन्यको तुलनामा ठूला उद्योग/व्यवसाय धेरै रहेका छन् । सञ्चालनमा रहेका ५३.५७ प्रतिशत ठूला उद्योग/व्यवसायको बिजुली खपत ७५ प्रतिशतले घटेको छ । अन्य आकारका उद्योगहरुको पनि बिजुली खपतमा लगभग उस्तै गिरावट आएको देखिन्छ ।

बन्दाबन्दीे अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन÷कारोबार घटेको जनाएका छन् । बन्दाबन्दी अवधिमा ८३.९ प्रतिशत उद्योग/व्यवसायहरुको औसत बिजुली खपत घट्नुले समेत सो तथ्यलाई थप पुष्टि गर्दछ । ठूलो परिमाणमा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबार घट्नुले आर्थिक क्रियाकलापमा उल्लेख्य कमी आएको देखाउँछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।